विद्युतीय बसमा आकर्षण बढ्दो, पूर्वाधार निर्माण तयारी सुस्त

तस्बिरः बाह्रखरी

विद्युतीय सवारी साधनमा यतिबेला सबैको चासो बढेको छ । सञ्चालन खर्च कम हुने र वातावरणमैत्री विशेषता रहेकाले विद्युतीय सवारीमा सबैको आकर्षण बढेको हो । “पेट्रोल, डिजलबाट चल्ने सवारी सधानको तुलनामा विद्युतीय सवारी साधनको सञ्चालन खर्च ४० प्रतिशतसम्म कम हुन्छ,” विद्युतीय सवारी परिवहन संघका अध्यक्ष उमेश श्रेष्ठले भने, “इन्जिन नहुने र मोबिल पनि नलाग्ने हुँदा गियरबक्स, क्लजप्लेटजस्ता पार्ट्सको मर्मत गर्ने झन्झट यसमा हुँदैन । त्यसैले मर्मत र सर्भिसिङ शुल्कमा पनि बचत हुन्छ ।”

हालै सरकारले साझा यातायातलाई तीनसय विद्युतीय बस खरिदका लागि तीन सय करोड रुपैयाँ दिएको छ । विद्युतीय बस खरिद र सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई यो रकम दिएको हो । “असोज अन्तिम वा कात्तिक पहिलो साताभित्रै साझाले जीटुजी वा सार्वजनिक खरिद प्रक्रियाबाट विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने सहमति छ,” मन्त्री महासेठले बताए ।

सुन्दर यातायातले २५ वटा ल्याउँदै

सुन्दर यातायात प्रालिले केही महिनामै २५ वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । जसमा चीनबाट खरिद गरिएका सातवटा विद्युतीय बस केही दिनमा नै काठमाडौं आइपुग्ने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । गत आर्थिक वर्षमा नै सुन्दरले दुईवटा विद्युतीय बस ल्याएको थियो । 

“बाँकी १६ वटा बस पनि केही महिनामै काठमाडौं आइपुग्ने छन् । ती बस निर्माण भइसक्न केही काम बाँकी छ,” थापाले भने । गत आर्थिक वर्षमा नै ल्याइएका दुईवटा बस सरकरको सहयोग नपाएकाले सञ्चालन गर्न नसकिएको सुन्दर यातायात प्रालीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

“केही अघि संसदीय समितिमा कुरा उठाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं । सरकारले विद्युतीय सवारी साधन सञ्चालनलाई सहयोग गर्ने बताएको छ,” थापाले भने, “सरकारको सहयोगकै कारण एक करोड ८७ लाख पर्ने बसमा करिब ४० लाख रुपैयाँ सहुलियतल पाएका छौं । नौ वटा बस चाँडै सञ्चालन गर्नेछौं । बाँकी १६ वटा केही महिनामै सञ्चालन गर्नेछौं ।”

प्रकाशित मिति: : 2019-07-23 11:46:16

प्रतिकृया दिनुहोस्