निर्मला हत्या प्रकरण : चार प्रतिवेदन बने, हात लाग्यो शून्य

तस्बिरः अनलाइनखबर

कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको वर्ष दिन हुन लागेको छ । ०७५ साउन १० गते बलात्कारपछि हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मलाका हत्यारा पत्ता लगाउन सरकारले गरेका ११ महिनाका प्रयास अहिलेसम्म खेर गएका छन् ।

एकातर्फ निर्मलाका हत्यारा पत्ता लगाउनु दूरहपूर्ण बनिरहेको छ भने अर्कोतर्फ गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र बनेको छ ।

गृह मन्त्रालयद्वारा गठित मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए ।

अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् । न त यी प्रतिवेदनमाथि टेकेर प्रहरीले घटनाको अनुसन्धान नै गर्न सकेको छ । गृहको छानविन प्रतिवेदन एकातिर छ, सरकार र प्रहरीको ध्यान अर्कैतिर मोडिएको छ ।

गृह मन्त्रालयबाट गठित मैनाली समितिको प्रतिवेदनले निर्मला पन्तको बलात्कार एक जना व्यक्तिबाट सम्भावना कम देखिएको र अन्यत्रै हत्या गरेर उखुबारीमा फालिएको हुन सक्ने निश्कर्ष निकालेको थियो ।

घटना भएको १० महिनासम्म निर्मला पन्तका हत्याराबारे प्रहरीमा किटानी जाहेरी परेको छैन । बरु यसवीचमा कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालतमा ४ वटा मानहानीका मुद्दा दर्ता भए ।

आखिर निर्मला हत्या प्रकरणबारे यो एक वर्षसम्म अपराधी पत्ता लगाउन असफल बनेको प्रहरी अहिले के गरिरहेको छ ? यसबारे सामान्य चर्चा गरौं ।

के गर्दैछ प्रहरी ?

निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अहिलेसम्म दर्जन बढी टोली कञ्चनपुरमा खटिइसकेका छन् । यसवीचमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमै तीनजना प्रहरी प्रमुख फेरिए । हरेकले नेतृत्वमा आउँदैपिच्छे सिंगो संगठनका लागि टाउको दुखाइको विषय बनेको निर्मला प्रकरण हल गर्ने दाबी गरे । तर, अझै घटनाको गुत्थी सुल्झन सकेको छैन ।

बरु निर्मला प्रकरणको अनुसन्धानका लागि खटिएका प्रहरी उपरीक्षक (एसपी) कुवेरसिंह कडायत र दुर्गासिंह वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवामै छुटेका छन् ।

प्रकाशित मिति: : 2019-07-23 11:32:46

प्रतिकृया दिनुहोस्