राजस्वको सिस्टम सधैं बिग्रन्छ

तस्बिरः अन्नपूर्ण पोष्ट

नयाँ बानेश्वरस्थित एक गल्लीमा रहेको सरकारी कार्यालय । सेवाग्राहीको ठेलमठेल । हातमा फाइल बोकेका सेवाग्राहीको लाइन ढोका बाहिरसम्म । साँघुरो गल्लीमा भाडाको घरमा सञ्चालित आन्तरिक राजस्व कार्यालयको दृश्य हो यो । कार्यालय समयअगाडि सेवाग्राहीको भीड लागिसकेको थियो । सोमबार बिहान १० बजे अन्नपूर्ण टोली कार्यालय पुग्दा सेवाग्राही आउने क्रम जारी थियो । कार्यालय नखुल्दै सेवाग्राही लाइन लागिसकेका थिए । कार्यालयको पहिलो तलामा रहेको स्थायी लेखा नम्बर (प्यान) लिने कोठामा छिर्न जोकोहीलाई हम्मे पथ्र्यो ।

ठेलमठेल गर्दै कोठाभित्र पसेका एक सेवाग्राहीले भने, ‘सास फेर्नै मुस्किल भो, न बस्ने ठाउँ छ, न व्यवस्थित लाइन ।’ भुइँतलामा राजस्व बुझाउनेको भीड पनि उत्तिकै थियो । राजस्व बुझाउन कार्यालय परिसरमा एक निजी बैंकको काउन्टर छ । कार्यालय साँगुरो ठाउँमा भएकाले पार्किङ असुविधा उस्तै । प्रमुख कर अधिकृत लालप्रसाद शर्मा पंगेनीले बस्नका लागि भुइँ तलामा कुर्सी भए पनि छिटो पालो आउँछ भनेर सेवाग्राही कोचाकोच गरेर बस्ने गरेको बताए । ‘तल कुर्सी छन् तर छिटो पालो आउँछ भनेर माथि भीड लगाउँछन्’, उनले भने, ‘भुइँतलामा कुर्सी खाली नै हुन्छन् ।’ सेवाग्राहीकै कारण भीड भएको उनको भनाइ छ ।

व्यक्तिगत प्यान लिनेको भीड

सरकारले साउनदेखि सबै कर्मचारीलाई व्यक्तिगत स्थायी लेखा नम्बर (पिप्यान) अनिवार्य गरेपछि राजस्व कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको हो । ‘साउन १ गतेबाट प्यान लिनको चाप बढेको छ’, प्रमुख कर अधिकृत पंगेनीले भने, ‘साउन मसान्तभित्र अन्तःशुल्क नवीकरण गरिसक्नुपर्ने भएकाले भीड बढेको हो । व्यवसायी तथा सामाजिक संघसंस्थाले साउनभित्र नवीकरण नगरेमा जरिबाना तिर्नुपर्ने प्रावधान छ ।’

पैसा तिरेर अनलाइन फाराम

व्यक्तिगत स्थायी लेखा नम्बरको फाराम ‘डिजिटल इन्ट्री’ गर्न कर्मचारी मान्दैनन् । दिउँसो तीन बजेतिर व्यक्तिगत प्यान लिन पुगेकी एक महिलाले फारम मागिन् । तर कर्मचारीले सुनेजस्तै गरेनन् । उनले पटक-पटक फाराम दिन भनेपछि कर्मचारीले अनलाइन भरेर आउन भने । ‘बाहिरबाट अनलाइन भरेर आउनुस्, यहाँ हुँदैन’, ती कर्मचारीले रुखो स्वरमा भने, ‘यहाँ फाराम भर्ने होइन ।’

ती महिलाले बाहिर अनलाइन फाराम भर्दा समस्या देखिएकाले आफूले लिखित फाराम भर्ने बताएपछि कर्मचारीले फाराम दिए । उनले फाराम भरिन् । डिजिटल इन्ट्रीका लागि दोस्रो तलामा रहेको कोठामा पुगिन् । तर त्यहाँ कर्मचारी थिएनन् । उनले नजिकै रहेका अर्का कर्मचारीलाई फाराम दिइन् । ती कर्मचारीले सिस्टम बिग्रिएको भन्दै काम नहुने जबाफ फर्काए । काम नभएपछि उनी कार्यालय छेउमै रहेको एक पसलमा पैसा तिरेर अनलाइन फाराम भर्न बाध्य भइन् । एक कर्मचारी भन्दै थिए, ‘सबैको अनलाइन कसरी भर्न सकिन्छ ? खुरुखुरु बाहिरबाट भरेर ल्याए त एकैछिन्मा काम भइहाल्छ नि ।’ बाहिर पसलेले फाराम भरेको १ सय ५० रुपैयाँ लिने गरेको छ ।

प्रकाशित मिति: : 2019-07-23 11:25:14

प्रतिकृया दिनुहोस्