कर्मचारीलाई मुख्यमन्त्रीको प्रश्न– घूसखोरी कसको आडमा भइरहेको छ ?

प्रदेश १ सरकार गठन भएको एक वर्षपछि जनस्तरबाटै प्रदेशका मन्त्रालयमा ठाडै रकम माग्ने गरेको गुनासो आएपछि मुख्यमन्त्री शेरधन राईले कर्मचारीलाई प्रश्न गरेका छन्– घुसखोरी कसको आडमा भइरहेको छ ? 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारको समेत उपस्थितिमा राईले मन्त्रालयहरुमा हुने गरेको रकमको लेनदेनबारे प्रश्न गरेका हुन् । राईले भने, ‘‘प्रदेश सरकार बनेको डेढ वर्ष पुगेको छ । मैले भनिरहनु पर्दैन, संविधान घोषणा पश्चात पहिलो पटक नेपालमा संघीयतामा हामी गएका छौं । त्यसलाई संस्थागत ढंगले अगाडि बढाउन हामी लागिरहेका छौं । त्यसैले प्रदेश संरचना नितान्त नयाँ संरचना हो । हामीले शून्यबाट काम गरिरहेका छौं ।’’ राईले सबै नयाँ ढंगले सिर्जनात्मक ढंगले अघि बढिरहेको दाबी गरे । राईले आफूले गराएको सामान्य छलफल, रिपोर्टिङ र समीक्षाका लागि बोलाइएको हो जस्तो नठान्न आग्रह गर्दै नितान्त भिन्न रुपमा प्रदेश सरकार बनेपछि पहिलो पटक अत्यन्त जरुरी भएर मुख्यमन्त्रीको निर्देशनमा इमर्जेन्सी ढंगबाट बोलाइएको बताए । भने, ‘‘बैठकमा सञ्चारकर्मीलाई बोलाएर खबर गरेर उपस्थित गराएर पहिलो पटक यस्तो बैठक बोलाइएको हो । सञ्चारकर्मीलाई पनि बोलाएर यस्तो बैठकमा केही कुरा राख्नुपर्ने भयो । २०७६ असार ३० गते भोजपुर जिल्लाको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख मोहनबाबु यादव रंगेहात १ लाख ८० हजारसहित पक्राउ परे । थुप्रै सूचनाहरु मैले प्राप्त गरेको छु, त्यसखालका श्रृंखला दोहोरिने सम्भावना देखिन्छ । कुन अड्डा कसरी चलिरहेको छ, हामीले निरन्तर वाच गरिरहेका छौं । मैले वाच गरिरहेको छु । मुख्यमन्त्री, प्रदेश सरकार तथा मन्त्रिपरिषद्को कार्यालय कुनै पनि कुरामा अनविज्ञ र बिनासूचना बसेको छैन ।’’

उनले थपे, “मान्छे रंगेहात समातिन्छ, यति अंक रकम माथि बुझाउनु पर्नेछ भन्छ, माथि भनेको कहाँ हो ? घूसको निम्ति विभिन्न खालको सेटिङ मिलाइन्छ, मिलाउने काम भइरहेको छ । प्रदेश कार्यालयको एक जना डिभिजन प्रमुख रंगेहात घूस लिँदालिँदै पक्राउ पर्छन्, यही श्रृंखला अर्को दोस्रो, तेस्रो हुँदै गयो भने प्रदेशको अवस्था के हुन्छ ?”

प्रकाशित मिति: : 2019-07-22 16:51:39

प्रतिकृया दिनुहोस्