‘आत्मघाती’ बन्दैछन् विप्लवका बम ! धमाधम आत्मसमर्पण गर्दै कार्यकर्ता

कैलालीको धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा गएको बिहीबार साँझ बम विस्फोट भयो । विस्फोटमा राम सिंहको ज्यान गयो । पाँच जना घाइते भए । प्रहरीले विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको र आफैंले बोकेको ‘टिफिन बम’ पड्किएर घटना भएको बतायो । सुरुमा विप्लव समूहले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेपनि शुक्रबार भने घटनाको जिम्मेवारी लियो ।
शुक्रबार विज्ञप्ति नै जारी गरेर विप्लव समूहले औपचारिक रुपमा घटनाको जिम्मेवारी लिँदै घटनामा ज्यान गुमाएका आफ्नै कार्यकर्ता रहेको बतायो । 

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी सुदिप गिरीका अनुसार ग्यासको सिलिण्डर विष्फोट भएको आशंकामा प्रहरी टोली घटनास्थल पुगेको थियो । तर, घटनास्थलमा विष्फोट भएको स्टीलको टिफिन बक्सको अवशेष भेटिएको थियो । त्यही आधारमा प्रहरीले बम भएको निष्कर्ष निकाल्यो । प्रहरीका अनुसार झोलामा बम बोकेर खाजा खान होटलमा छिरेका विप्लव कार्यकर्ताको बम आफैं पड्कियो । त्यो बम उनीहरुले पहाडी जिल्लामा लैजान खोजेको हुनसक्ने प्रहरीको आशंका छ । घटनामा घाइते सेरला पनि विप्लव समूहकै कार्यकर्ता हुन् । मोबिन खान, जितेन्द्र यादव र धनगढी–४ बोराडाँडीका केशवराज पाण्डेय भने स्थानीय हुन् । प्रहरी अधिकारी यसलाई सांकेतिक रुपमा ‘आत्मघाती’ विस्फोटको संज्ञा दिन्छन् । आत्मघाती बम भनेको आफ्नो शरीरमा बम भिरेर भीडमा वा कुनै स्थानमा बमसँगै आफू पड्किनु र अरुको पनि ज्यान लिनु हो । तर विप्लव समूहले आत्मघाती बमकै रुपमा त्यसलाई प्रयोग नगरेपनि दुई घटनामा भने उनीहरुतर्फ नै ठूलो क्षति भयो । 

यसअघि १२ जेठमा काठमाडौंको सुकेधारा र अनामनगरमा भएको बम विष्फोटमा पाँच जनाको मृत्यु भएको थियो । ६ जना घाइते भए । प्रहरी अनुसन्धानका क्रममा मारिने र घाइते सबै विप्लव समूहका कार्यकर्ता भएको खुलेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार विष्फोटक पदार्थ सही तरिकाले ह्याण्डल गर्न नसक्दा दुर्घटना भएको थियो । अघिल्लो दिन नेपाल बन्द आव्हान गरेको विप्लव समूहले विभिन्न स्थानमा बम राखेर त्रास सिर्जना गर्न खोजेको थियो । तर अर्कालाई हान्न खोजेको तीर आफ्नैतिर ठूलो क्षति गर्यो । 

प्रकाशित मिति: : 2019-07-22 12:50:25

प्रतिकृया दिनुहोस्