प्रहरीले देखेन? ढुक्क नहुनुस्, सिसिटिभी छ...

तस्बिरः एजेन्सी

जेठ अन्तिम साता एक युवती राति मोटरसाइकलमा आएका युवकले आफूलाई केही तीखो वस्तुले घोचेर भागेको भन्दै प्रहरीकहाँ पुगिन्।

घटनाबारे थप समाचार बाहिरिएपछि अरु पीडित महिला पनि उजुरी गर्न प्रहरीकहाँ पुगे। एउटै प्रकृतिका घटनाबारे उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले अनुसन्धान अघि बढाए। प्रहरीको प्रारम्भिक अनुसन्धान थियो, सबै आक्रमण राति नौ बजेदेखि दश बजेको बीचमा भएका छन्।

निलो पल्सर मोटरसाइकलमा हेल्मेट लगाएका युवकले महिलालाई मात्र त्यस्ता आक्रमण गरिरहेका छन्। सबै घटना ढल्कु, डल्लु, पकनाजोललगायत एउटै क्षेत्रका आसपासका ठाँउमा भएका छन्, नेपाल प्रहरीले निष्कर्ष निकाल्यो।

आक्रमणको घटनाले बजार तात्यो, अपराधी पत्ता लगाउन प्रहरीलाई चौतर्फी दबाव आयो। प्रहरीले आक्रमणकारी एक महिना पुग्न लाग्दा समेत पत्ता लगाउन सकेन्। प्रहरीले महिना दिनसम्म पत्ता लगाउन नसकेको आक्रमणकारीलाई सिसिटिभी क्यामेराले भने सहजै पत्ता लगायो।

‘सिसिटिभीले प्रहरीलाई अपराध नियन्त्रण तथा नियम कानुनको पालना गराउन सहयोग गरेको छ। सिसिटिभी जडान गरिएको स्थानमा मानिसहरु गैरकानुनी क्रियाकलाप र अपराध गर्न सक्दैनन्’ नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने ‘क्यामेराले अपराध नियन्त्रण गर्न, अनुसन्धान गर्न तथा मानवीय उद्धार गर्न सहज बनाएको छ। प्रहरी नभएको ठाउँको समेत यसले निगरानी गरिरहेको हुन्छ।’

यस्ता घटनाहरु सिसिटिभी क्यामेराको सहयोगबाट प्राप्त भएका केहि उदाहरण मात्रै हुन्। शान्ति सुरक्षा व्यवस्थापन र अनुगमनका लागि सिसिटिभी क्यामेरा गतिलो र भरपर्दो माध्यम बन्ने गरेको छ।

प्रकाशित मिति: : 2019-07-22 07:14:07

प्रतिकृया दिनुहोस्