रेडियो व्यायामको प्रेममा कसरी पर्‍यो जापान

तस्बिरः एजेन्सी

“एक, दुई, तीन, चार...पाँच, छ, सात, आठ....” टोकियोको कामेजुका पार्कमा आधा दर्जन मानिस व्यायाम गर्दैछन्।

उनीहरूको प्रशिक्षक एउटा “पोर्टेबल रेडियो” बालबालिका खेल्ने चिप्लेटीमाथि टक्रक्क राखिएको छ। रेडियोबाट कुनै पुरूषको आवाज आइरहेको छ। आवाजसँगै पृष्ठभूमिमा बजिरहेको पियानोको संगीतले निकै उर्जा दिइरहेको छ।

यो रेडियो व्यायाम जापानको दैनिक जीवन बनेको छ। यसलाई “राजियो ताइसो” भनिन्छ।

युकिहिडे मारूयामा तीन मिनेटको व्यायाम दिनको सुरूवात गर्ने सर्वोत्तम तरिका भएको बताउँछन्। मारूयामा ७९ वर्षीय अवकाशप्राप्त व्यापारी हुन्। उनी एक दशकदेखि दैनिक यस्तो व्यायाम गर्दै आइरहेका छन्। “व्यायामहरू कठिन हुँदैनन्। व्यायामपछि शरिर फुर्तिलो भएको अनुभव हुन्छ” उनले भने।

सम्राट हिरोहितोले औपचारिक रूपमा गद्दी आरोहण गरेको खुशियालीमा हुलाक कार्यालयको स्वास्थ्य ब्युरोले सन् १९२८ मा राजियो ताइसो सुरू गरेको थियो। राजियो ताइसो अमेरिकी बीमा कम्पनी मेट्रोपोलिटन लाइफको बिहानको व्यायामबाट प्रेरित थियो। त्यसयता जापानको यो सामुदायिक व्यायाम बिरलै परिवर्तन भएको छ।

टोकियोले २०२० को ओलम्पिक्स र प्यारालिम्पिक्स आयोजना गर्दैछ। जापानको क्यालिस्थेनिक्स समुदाय राजियो ताइसोको लोकप्रियता बढाउन चाहन्छ। यो महिनाको अन्त्यमा देशका सबै ४७ ओटा प्रिफेक्चर र रंगशालाभित्र हुने १२ हजारसहित एक करोड मानिसले सामूहिक व्यायाम गर्ने तयारी चलिरहेको छ। 

दोस्रो विश्वयुद्धमा जापानको हारपछि मित्र शक्तिले सैन्यवादसँग नजिकको सम्बन्ध भएको भन्दै राजियो ताइसो निषेध गर्‍यो। तर सन् १९५१ मा शिक्षा र स्वास्थ्य मन्त्रालयले विज्ञ र जीवन बीमा उद्योग सम्मिलित टोली बनाएर एनएचके रेडियोबाट प्रसारण हुने गरी नयाँ कार्यक्रम विकास गर्‍यो।

प्रकाशित मिति: : 2019-07-22 07:11:08

प्रतिकृया दिनुहोस्