नेकपामा ईश्वर र नारायणकाजीको विवाद पेचिलो

Agency

काठमाडौँ- पूर्वमाओवादीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्कुल विभाग प्रमुख प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बनाउनु नै पर्ने अडान लिएपछि आइतबारको सचिवालय बैठक आंशिक मात्रै सफल हुने संकेत देखा परेको छ।

सबैभन्दा बढी महत्वपूर्ण मानिएको संगठन विभागको प्रमुखमा वामदेव गौतम र विदेश विभागको प्रमुखमा माधव नेपाललाई राख्ने सहमति भएपनि स्कुल विभागको नेतृत्वको जिम्मेवारी ईश्वर पोखरेललाई दिनु पर्ने पूर्व एमालेको र श्रेष्ठलाई दिनु पर्ने पूर्व माओवादीको अडानका कारण आइतबारको बैठकबाट एकताले पूर्णता नपाउने संकेत देखिएको छ।

एमाले खेमाले स्कुल विभागको प्रमुख पोखरेललाई बनाउने अडान लिएपछि  प्रचण्ड निवास खुमलटारमा  बिहान भेला भएका माओवादी पक्षले श्रेष्ठलाई स्कुल विभागको प्रमुख बनाउने प्रस्ताव एकीकृतरुपमा राख्ने निर्णय गरेका थिए।

राजनीतिक प्रतिवेदन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठलाई स्कुल विभागको प्रमुख बनाउन एमाले खेमाले आनाकानी गरिरहेको पार्टीका एक उच्च तहका नेताले देशसञ्चारलाई बताए।

आइतबार बिहानको बैठकमा माओवादी खेमाले पूर्व सहमति अनुसार आफ्नो भागमा परेका पार्टीका जिल्लाइन्चार्ज र सहन्चार्जको टुंगो लगाएको बुझिएको छ।

माओवादीको बैठक जारी रहेका बेला पूर्वएमाले नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसी सहमति जुटाएको छ। उक्त बैठकमा पोखरेलाई स्कुल विभागको प्रमुख जसरी पनि बनाउनु पर्ने निर्णय पुन : गरिएको थियो।

प्रकाशित मिति: : 2019-07-21 14:29:08

प्रतिकृया दिनुहोस्