संकटमा वैदेशिक रोजगारी : फ्री भिसा फ्री टिकट निष्प्रभावी, खुम्चिँदै खाडीको अवसर

तस्बिरः नेपाललाइभ

काठमाडौं– गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि भन्दै आएको एउटा नारा हो- 'हाम्रा युवा विदेश जानुमा रहर होइन बाध्यता छ।'

मन्त्री विष्टले भने जस्तै श्रम बजारमा आउने युवाले देशमै रोजगारी पाउने अवस्था सिर्जना भइसकेको छैन। मलेसिया लगायत खाडी मुलुकमा पाउँदैआएको रोजगारी पनि क्रमश: संकटमा पर्दै गएको छ। मलेसिया रोजगारी बन्द भएसँगै कतार, साउदी, युएई, कुवेत, बहराइन, ओमान लगायतका प्रमुख गन्तव्य मुलुकमा पनि रोजगारीमा समस्या सिर्जना हुन थालेको छ।

मलेसिया रोजगारी बन्द र केही मुलुकमा उत्पन्न आर्थिक संकटका कारण र सरकारले लागू गरेको फ्री भिसा फ्री टिकट (शून्य लागत) लगायत कारणबाट वैदेशिक रोजगारीका अवसरहरु साँघुरिँदै गएको श्रमविज्ञ पूर्णचन्द्र भट्टराई बताउँछन्। 

‘२०७२ सालदेखि वैदेशिक रोजगारीमा निरन्तर गिरावट आइरहेको छ। एकातिर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या खुम्चँदै गइरहेको छ भने अर्कोतिर रोजगारीका अवसरहरु,’ उनी भन्छन्।

रोजगारीका लागि नेपाली कामदार जाने गन्तव्य मुलुकमा देखिएको आर्थिक समस्या र वैदेशिक रोजगारीमा नेपाल सरकारले तय गरेका नीति तथा कार्यक्रमका कारण समस्या आएको सरोकारवालाहरु बताउँछन्।

‘वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा मात्रै गिरावट आएको होइन’,  वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तना भन्छन्, ‘पूरै वैदेशिक रोजगारीको क्षेत्रमा नै गिरावट आएको हो, विश्व श्रम बजारमा नेपाली श्रमिकका अवसरहरु सीमित हुन थालेका छन्।’

प्रकाशित मिति: : 2019-07-21 07:50:28

प्रतिकृया दिनुहोस्