पोखरामा अन्नपूर्ण केबलकार विवादः मुआब्जा नपाएसम्म निर्माण हुननदिने स्थानीय जग्गाधनीको अडान

तस्बिरः नेपाल समाचार पत्र

पोखरा । स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ । जग्गाधनीहरुले ‘हाम्रो मुआबजा नदिई कसरी तार टाँग्दा रहेछौं हेरौं त’ भनेर मोर्चाबन्दी गरेपछि गुरुङलाई यो असजिलो आइलागेको हो ।

गत पुस २९ गते शिलान्यास गरी सुरु गरिएको पोखरा महानगर पालिका बडा नं १८ मा पर्ने केबलकार योजना सर्वोच्च अदालतको फैसला र स्थानीय जनताको विरोधका कारण रोकिएको हो । सेदी बगरबाट सराङकोट हाइटसम्मका लागि एक बर्ष ६ महिनाभित्र केबलकार सञ्चालन गर्न अन्नपूर्ण केबल कार प्रा.लि.ले उद्घोष गरेर काम थाले पनि प्रक्रिया नपु¥याएका कारण जटिलता सिर्जना भएको छ ।

अन्नपूर्ण केबल कारका अध्यक्ष कालु गुरुङले हिन्दु संस्कृतिअनुसार सेदी बगरमा भूमि पूजा गरी एक कार्यक्रममा बीच केबुलकारको शिलान्यास गर्दा पोखरावासीमा जुन उत्साह छाएको थियो, अहिले निराशामा परिणत भएको छ ।

शिलान्यासका क्रममा उद्यमी गुरुङले भन्नुभएको थियो, ‘पोखराका लागि अन्नपूर्ण केबलकार नयाँ पहिचान हुनेछ भने पर्यटन नगरी पोखरामा पर्यटन बढाउन यसले अपूर्व योगदान दिनेछ ।’ तर, यो उद्घोष स्थानीय नागरिकहरु सर्वोच्च अदालत पुगेपछि र सर्वोच्चले निर्माणाधीन केबलकार परियोजना तत्काल निर्माण नगर्न उत्प्रेषण आदेश दिएपछि बेकार नबन्ने त होइन भन्ने आशंका सिर्जना भएको छ ।

सेती बगरदेखि सराङकोटसम्म १८ वटा पोल गाडिएपनि त्यसमा लठ्ठा वा तार चढाउन भने बाँकी छ । परियोजनाका लागि ऋण लगानी गर्ने राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक र नेपाल बंगलादेश बैंक पनि यतिखेर झस्किएका छन् । ‘हाम्रा स्थानीय साथीहरुले प्रक्रिया पूरा नगरी ऋण प्रवाह गरेको देखियो, जग्गाधनीहरुको सहमति नै नलिई निर्माण हुन लागेको परियोजनामा लगानी गर्न हाम्रो नियमले दिंदैन’ काठमाडौंस्थित राष्ट्रिय वाणिज्य बैंकका केन्द्रीय कार्यालयका एक उच्च अधिकारीले भने, विवाद समाधान नभई अगाडि स्वीकृत भएका किस्ताहरु पनि प्रवाहित हुँदैनन् ।

सेदी बगर स्टेशन बिन्दुबाट सराङकोट हाइटसम्म २१ सय ७५ मिटर लम्बाई भएको उक्त केबलकारमा १६ देखि ३६ बटासम्म डिब्बा रहने र प्रत्येक डिब्बामा आठ जना यात्रुले यात्रा गर्नसक्ने व्यवसायी गुरुङका एक सहायकले बताए । ५ देखि ७ मिनेट सम्मको यात्रा हुृने उक्त केवलकारमा जापानिज निप्पोल केवल संँगको प्राविधिक सहयोग रहने, केवलकार सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार निर्माण हुने शिलान्यासकै क्रममा प्रालिका अध्यक्ष कालु गरुङले जानकारी दिनुभएको थियो । केवलकारमा प्रयोग हुने सामाग्रीहरु स्विजरल्याण्डबाट झिाइएको पनि कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2019-07-21 07:31:39

प्रतिकृया दिनुहोस्