'सरकार सिधै गोली हान्न आउँछ भने हामीले पनि ज्यान बचाउनैपर्यो'

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको एक कार्यकर्ता बिहीबार धनगढीमा आफैंले बोकेको बम पड्किएर मारिए। यसअघि भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहानमा दुवैतर्फ मानवीय क्षति भयो। सरकार र विप्लव माओवादीबीच वार्ताको खबर पनि सार्वजनिक भइरहेका छन्। यसै सन्दर्भमा सेतोपाटीका लागि बिनु सुवेदीले विप्लव नेतृत्वका नेकपा पोलिटब्युरो सदस्य अनिल शर्मा बिरहीसँग गरेको संवादको सम्पादित अंश:

हिजोआज विप्लव नेतृत्वको नेकपाले के गर्दैछ?

पार्टीले संघर्ष र संगठनका नयाँ कार्यक्रमहरू बनाइरहेको छ। हामी त्यही अभियानमा छौं। ती विस्तारै सार्वजनिक हुन्छन्।

संघर्षका नयाँ कार्यक्रम भनेका के के हुन्?

हामीले जनसंघर्ष र वर्गसंघर्षका कार्यक्रम अघि बढाइरहेका छौं।

तपाईंहरू आफ्ना गतिविधिलाई सशस्त्र भन्नुहुन्छ कि निशस्त्र?

हामी शान्तिपूर्ण संघर्षमै छौं। सरकारले भने भिडन्ततिर लान खोजेको छ।

तपाईंहरू सशस्त्र राजनीतिक दल हो कि निशस्त्र?

हाम्रो राजनीति हतियारसहितको राजनीति होइन। त्यो घटनाक्रमले बुझाएको पनि छ। हामीले कोही पनि व्यक्ति वा समूह वा कुनै सरकारी निकाय, सुरक्षा निकायमा आक्रमण गरेका छैनौं। यसले हाम्रो आन्दोलन शान्तिपूर्ण हो भन्ने स्वत: सिद्ध हुन्छ।

बेलाबेला बम विस्फोट भइरहेका हुन्छन्। काठमाडौंमै भयो। धनगढीमा पनि बम पड्केर तपाईंहरूकै कार्यकर्ताको मृत्यु भयो। त्यसो हुँदा यसलाई शान्तिपूर्ण भन्न कसरी मिल्यो र?

क्रान्तिमा बल प्रयोगको अनिवार्यताबारे रणनीतिक हिसाबले हामी क्लियर छौं। तत्काल भने हाम्रो आन्दोलन शान्तिपूर्ण हो। बल प्रयोग हाम्रो रणनीति मात्र हो।

त्यसले आमनागरिकको जिन्दगीलाई त असर पारेकै छ। तपाईंहरूकै तल्लो तहका कार्यकर्ता पनि गुमाउनुपरेकै छ!

सशस्त्र संघर्षले मुलुकलाई गृहयुद्धतिर लानसक्ने, नागरिकको क्षति हुन सक्ने, कार्यकर्ता र पार्टीले पनि क्षति बेहोर्नुपर्ने हुन्छ। त्यसैले हामीले शान्तिपूर्ण रूपान्तरण होस् भनेर धैर्य गरिरहेका छौं।

शान्तिपूर्ण राजनीति गर्न पनि भूमिगत हुनैपर्छ र?

शान्तिपूर्ण आन्दोलन गर्न भूमिगत हुनुपर्दैन र हामी भूमिगत पनि छैनौं।

तर, तपाईंहरू सार्वजनिक जीवन पनि बाँचिरहनुभएको छैन नि!

सरकारले नै प्रतिबन्ध लगाएपछि स्वाभाविक रूपमा हामी सरकारको प्रतिबन्धबाट छलिनुपर्यो। हाम्रो कुरा गर्ने हो भने गत वर्ष फागुन ६ गते विराटनगरमा युवाहरूको सम्मेलन थियो। त्यो सम्मेलनमा सम्बोधन गर्न जाँदा स्थायी समिति सदस्य, पोलिटब्युरो लगायत थुप्रै कार्यकर्तालाई कारबाही गरियो। सरकारले नै हाम्रो शान्तिपूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाएको छ। दमन गरेको छ। त्यसले समस्या देखिएको हो।

प्रकाशित मिति: : 2019-07-19 22:35:59

प्रतिकृया दिनुहोस्