चीनले नेपालसँग माग्यो हवाइ उडानमा भारत सरहको सुविधा

चीनले नेपालसँग हवाइ उडानका लागि भारत सरहको सुविधा माग गरेको छ। चीनले नेपालसँग भारतसरह सातामा ३० हजार सिट उडानको माग गरेको हो।  

नेपाल र चीनबीच आगामी साता हवाइ सम्झौता पुनरावलोकनका लागि वार्ता हुँदैछ। चीनले पनि नेपालमा भारतले जस्तै असिमित उडानको अनुमति माग गरेको हो। हाल नेपाल र चीनबीच सातामा ७० वटा उडानको मात्रै स्म्झौता छ। तर, भारतसँग भने नेपालमा सातामा ३० हजार सिट उडान रहेको छ। 

नेपालका सरकारी अधिकारीहरु पनि चीनलाई भारत सरहको सुविधा दिने तयारीमा छन् भने केही अधिकारीहरु बढीमा एक सय उडान मात्रै दिनुपर्ने पक्षमा उभिएका छन्। चीनले नेपालका एयरलाइन्सहरुलाई उडान अनुमति दिनमा आलटाल गरिरहेकाले पनि तत्काल भारतसरहको सिट दिन नसक्ने बताउँदै आएका छन्।

नेपाल सरकारले चीनसँग सबै शहरमा उडानका लागि अनुमति माग्ने भएको छ। छिट्टै हुने दुई पक्षीय वार्तामा नेपालले चीनका सबै शहर नेपालका उडानका लागि खुला गर्न माग गर्ने भएको छ। हाल नेपालले चीनको बेइजिङ, सांघाइ, ग्वान्जाओ, लसान, छेन्दु, कुनमिङ र लासामा मात्रै उडान गर्न पाउने सम्झौता छ। 

नेपाली वार्ता टोलीका संयोजक तथा मन्त्रालयका सहसचिव सुरेश आचार्यले नेपालले चीनका सबै शहरमा र चीनलाई पनि नेपालका सबै शहरमा उडान गर्न दिने गरी एजेण्ड तयार पारिएको बताए। 

सम्झौता भएमा चीनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय  अन्तर्राष्ट्रिय विमास्थलमा सिधै उडान भर्न पाउनेछ। सम्झौतापछि नेपालले पनि चाहेको शहरमा उडान गर्न पाउने छ। साउन ७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव आचार्यको नेतृत्वमा नेपाली टोली चीन जाँदैछ। वार्तामा नेपालका एयरलाइन्सहरुलाई उडान भर्न सहज गराउने समेत एजेण्डा नेपालले तय गरेको छ।

नेपाल वायु सेवा निगमले चार वर्षदेखि ग्वान्जाओ उडानको अनुमति मागेको भएपनि हालसम्म चीनले दिएको छैन। अहिले आएर चीनले नेपाल वायुसेवा निगमको सुरक्षा अडिट गर्ने भन्दै पत्र पठाएको छ। जसका कारण निगमको चीन उडान झनै लम्बिएको छ।

प्रकाशित मिति: : 2019-07-19 17:57:31

प्रतिकृया दिनुहोस्