हेमकार परिवार हत्याकाण्ड : अभियुक्तलाई साधारण तारेखमा रिहा गर्न सर्वाेच्चको आदेश

नेपालगन्जका सुन व्यापारी दीपक हेमकार परिवारका पाँच जनाको हत्या आरोप लागेका भारतीय नागरिक किशोरीलाल सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले १४ वर्ष पुरानो हत्याकाण्डका आरोपित सोनीलाई रिहा गर्न आदेश दिएको हो।

नेपालगन्ज-१५, सदरलाइनस्थित न्यु दीप ज्वेलर्सका सञ्चालक दीपक हेमकर परिवारको ०६२ फागुन २३ मा सामूहिक हत्या भएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र बाँके प्रहरीको विशेष टोलीले आरोपित सोनीलाई ०७५ असोज १३ मा भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

त्यसलगत्तै केही समय अनुसन्धान गरी बाँके प्रहरीले जिल्ला अदालतमा हत्या तथा डकैती मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा जिल्ला अदालत बाँकेले ०७५ कात्तिक १४ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

आरोप अस्वीकार गर्दै आएका सोनीले उच्च अदालत दाङमा निवेदन दिँदै साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गर्न दिन माग गरेका थिए। उच्च अदालत दाङको नेपालगन्ज इजलासले ०७५ पुस २६ मा जिल्लाकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो। उक्त आदेशविरुद्ध सोनीले ०७५ चैत ५ मा सर्वोच्च अदालतमा कारागार बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिए।

प्रकाशित मिति: : 2019-07-19 08:59:35

प्रतिकृया दिनुहोस्