१३ वर्षमा समातिएका हत्या आरोपी सर्वोच्चले ९ महिनामै ‘छाड्यो’ !

तस्बिरः रातोपाटी

५ जना हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले ५ जना हत्या आरोपीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

२०६२ साल फागुन २३ गते बाँकेको नेपालगञ्जमा सुन व्यापारी दीपक हेमकरको परिवारका ५ जनाको हत्या गरी लुटपाटसमेत भएको घटनाका मुख्य आरोपीमध्येका एक थिए– किशोरीलाल सोनी । सोनी मृतक दीपक हेमकरका ससुरासमेत थिए ।

२०६२ साल फागुन ११ गते नेपालगञ्जको सदरलाइनस्थित आफ्नै घरमा सुन व्यापारी ३२ वर्षीय दीपक हेमकर, उनकी हजुरआमा ८२ वर्षीय गुलावदेवी हेमकर, बुबा ६२ वर्षीय जगदेव हेमकर, आमा ४५ वर्षीया सीतादेवी हेमकर र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो ।

१४ वर्ष पुरानो उक्त हत्याकाण्डमा प्रारम्भिक चरणमै हत्या परिवारकै सदस्यबाट भएको हुन सक्ने निष्कर्ष प्रहरीले निकालेको थियो ।

तर आरोपीहरु सबै भारतीय नागरिक भएकाले उनीहरुलाई पक्राउ गरी मुद्दा चलाउन सकिएको थिएन ।

तर पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र बाँके प्रहरीको विशेष टोलीले आरोपी किशोरीलाल सोनीलाई भारतको लखनऊबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

त्यसलगत्तै केही समय अनुसन्धान गरी बाँके प्रहरीले जिल्ला अदालत बाँकेमा हत्या तथा डकैतीको मुद्दा दायर गरेको थियो ।

सरकारवादी भएको उक्त मुद्दामा जिल्ला अदालत बाँकेले २०७५ साल कात्तिक १४ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यद्यपि आरोपी किशोरीलाल सोनीले भने आरोप अस्वीकार गर्दै आएका थिए ।

त्यसपछि सोनी उच्च अदालत दाङमा निवेदन दिँदै साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउन माग गरेका थिए ।

उच्च अदालत दाङको नेपालगञ्ज इजलासले २०७५ साल पुस २६ गते जिल्ला अदालत बाँकेकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो ।

तर त्यस आदेशविरुद्ध सोनीले २०७५ चैत ५ गते सर्वोच्च अदालतमा कारागार बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

प्रकाशित मिति: : 2019-07-18 15:07:13

प्रतिकृया दिनुहोस्