'भिसिटिएस'को विरोधमा देशभरका टान्सपोर्ट बन्द, मालबाहक सवारी ग्यारेजमा थन्किए निर्णय फिर्ता नभएसम्म ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

ढुवानी व्यवसायमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तथा वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली (भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) लागू गर्ने गरी सरकारले बुधबारदेखि नयाँ व्यवस्था लागु गर्‍यो।

सोही व्यवस्थाको विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार नै मुलुकभरका टान्सपोर्ट कम्पनी बन्द गरिएका छन्। व्यवसायीहरुले आफ्ना मालबहाक ट्रकलाई घर तथा ग्यारेजमा थन्काएको बताएका छन्।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ढुवानी व्यवसायमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तथा मालबाहक ट्रकलाई अनलाइनमार्फत निगरानी गर्ने नीति ल्याएको र उक्त नीति बुधबारदेखि लागू गर्ने घोषणा अव्यवहारिक भएको भन्दै व्यवयायीहरु आन्दोलनमा उत्रिएका हुन्। सो नीति नसच्याएसम्म मालबाहक सवारी साधन र टान्सपोर्ट सञ्चालन गर्न नसकिने भन्दै व्यवसायीले व्यवसाय ठप्प पारेका हुन्।

यसअघि नै ट्रक तथा ढुवानी व्यवसायीले ढुवानीमा भ्याट र अनलाइन प्रणालीमार्फतको निगरानी तुरुन्त सच्याउन सरकारसँग माग गर्दै आएको थियो। सरकारले उक्त नीति नसच्याए साउन १ गतेदेखि आफ्ना सबै मालबाहक सवारीसाधन घर तथा ग्यारेजमा थन्काउने र व्यवसाय बन्द गर्ने उद्घोष गरेका थिए।

सरकारले लागू गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी व्यवसाय नै चौपट हुने र व्यवसाय सञ्चालन गर्न नसकिने निष्कर्ष व्यवसायीको छ।

प्रकाशित मिति: : 2019-07-18 11:49:39

प्रतिकृया दिनुहोस्