एकै कम्पनीलाई तीन पुलको ठेक्का, म्याद सकिँदा पनि आधी काम भएन

एलाइड एडभेन्चर कन्स्ट्रक्सनले ठेक्का पाएका कैलालीका तीन पुल अलपत्र परेका छन्।

एलाइडले ठेक्का पाएका कञ्चनपुरको कृष्णपुर नगरपालिका र धनगढी जोड्ने मोहना पुल, शिवगङ्गा नदीमा निर्माणाधीन पुल र लम्कीको पथरैया नदीमा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र छन्।

२०७१ सालमा तीन वर्षभित्र निर्माण सक्नेगरी ठेक्का लिए पनि मोहना पुलको म्याद तीन पटक थपिएको छ। तर पुलको काम अझै ५५ प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजन साइड कार्यालय धनगढीले जनाएको छ।

पहिलो सम्झौता अनुसार ८ करोड रुपैयाँ लागतमा तीन वर्षमा निर्माण सक्नुपर्ने सर्त थियो। तर त्यस अवधीमा २० प्रतिशतमात्र काम सम्पन्न भयो। त्यसपछि २ वर्ष समय थपिए पनि काम पुरा भएन।

सडक डिभिजन कार्यालयले अन्तिम मौका दिएर २०७६ असार मसान्तसम्म समय थपे पनि पुलको काम केवल ५५ प्रतिशत सकिएको जनाइएको छ।

समयमै काम सम्पन्न गर्न सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधारमन्त्री पठान सिंह बोहराले स्थलगत अनुगमन गर्दै ठेकदारलाई चाँडो काम सक्न निर्देशन दिएका थिए।

तर एलाइडका सञ्चालक चन्द्रशेखर मल्लले निर्देशन पूरा गरेनन्। त्यतिबेला मल्लले जेठ मसान्तभित्र पुल निर्माण गरिसक्ने वाचा गरेका थिए।

यसैगरी कैलालीको पथरैया नदीमा निर्माणाधिन पुल सम्पन्न गर्ने म्याद गुज्रिए पनि आधीमात्र काम सकिएको छ।

०७४ सालमा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी एलाइडलाई नै उक्त ठेक्का दिइएको थियो।

जेठ मसान्तसम्म निर्माण सक्नुपर्ने पुलको काम अझै ५० प्रतिशत पूरा भएको छैन। ८ करोड रुपैयाँ लागतमा दुई खण्डमा निर्माण गर्नुपर्ने पुलका लागि पुनः म्याद थप्ने तयारी भइरहेको छ।

यस्तै, धनगढी उप–महानगरपालिका वडा–७ स्थित शिवगंगा नदीमा निर्माणधीन पुलको पनि दुई वर्षसम्म काम हेर्दा निरासा जनक देखिन्छ।

पुल निर्माणको म्याद अझै एक वर्ष बाँकी भए पनि हालसम्म कार्यप्रगति सन्तोष जनक नभएको सडक डिभिजन साइड कार्यालय धनगढीका प्रमुख अर्जुन बमले बताए।

एक सय ५० मिटर लम्बाई रहेको उक्त पुल १२ करोड रुपैंयामा निर्माण सक्नेगरी एलाइडले नै ठेक्का पाएको थियो।

एलाइड एडभेञ्चरका कन्ट्रयाक्ट इन्चार्ज दिनेश बटालाले मोहना पुलको म्याद एक वर्ष म्याद थप्ने तयारी भइरहेको बताए। आर्थिक अभावका कारण समयमै पुलको काम सम्पन्न गर्न नसकिएको उनले दाबी गरे।

बटालाका अनुसार मोहना पुलको काम अघि नबढेका कारण पथरैया र शिवगंगा नदीमा निर्माणाधीन पुलको काम पनि प्रभावित भएको बताए।

‘मेनपावर जुटाउन र सामाग्री जुटाउन समस्या भएका कारण केही ढिलाई भएको छ, अब एक वर्षमा काम सक्छौं’ उनले भने।

तर सडक डिभिजन साइड कार्यालय धनगढीका प्रमुख बमले भने मोहना पुलको म्याद दुई पटक थपिसकेका कारण अब म्याद नथपिने बताए।

‘म्यादभित्र काम सम्पन्न नभएको अवस्थामा म्याद गुजे्रको दोस्रो दिनदेखि प्रत्येक दिन शुन्य दशमल ०५ प्रतिशतका दरले ठेक्का रकमको विगो तिर्नुपर्ने कानूनी प्रावधान छ’ उनले बमले भने, ‘अब मोहना पुलको हकमा एलाइड एडभेञ्चरले सो बमोजिम विगो तिर्नुपर्छ, अन्यथा उक्त कम्पनीलाई कालोसूचीमा राखिने छ।’

प्रकाशित मिति: : 2019-07-18 08:07:00

प्रतिकृया दिनुहोस्