प्रचण्डको पहलमा संगठन विभाग प्रमुखमा वामदेव

तस्बिरः नेपालखबर


नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीको सबैभन्दा शक्तिशाली विभाग– संगठन विभागको प्रमुख वामदेव गौतमलाई बनाउने सहमती नजिक पुगेका छन्।

पूर्व एमालेका शक्तिशाली नेता गौतम नेकपाको सचिवालय सदस्य हुन् र अहिले अध्यक्ष दाहालसँग निकट मानिन्छन्। अध्यक्ष र महासचिवले विभागीय जिम्मेवारी नलिने सहमती भएपछि गौतमलाई चयन गर्ने टुंगोमा ओली र दाहाल पुगेको नेकपाका उच्च स्रोतहरूले दाबी गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अध्यक्षद्वय ओली र दाहाल तथा सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलबीच भएको बैठक यस्तो सहमती नजिक पुगेको सचिवालयका एक सदस्यले बताए।

संगठन विभाग प्रमुखमा महासचिव पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापाको चर्चा अझै सेलाएको छैन। महाधिवेशनअघि पार्टी संगठनमा पकड जमाउन संगठन विभाग प्रमुखको भूमिका निर्याायक रहने मानिन्छ। त्यसैले दुवै अध्यक्ष आफु निकट नेतालाई संगठन विभाग जिम्मा लगाउन चाहन्थे।

त्यस्तै पार्टीको अर्को शक्तिशाली विदेश विभाग प्रमुखमा बरिष्ठ नेता माधव नेपाल चयन हुने सहमती जुटेको छ। यसअघि एमालेको विदेश विभाग प्रमुख रहेका नेपाल अहिले पनि विदेश विभागमै रहन चाहन्थे।

नेकपाका ३२ वटा विभागमध्ये १८ वटामा पूर्व एमाले र १४ वटामा पूर्व माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमती मंगलबार भएको हो। जसमा संगठन, विदेश, स्कुल, अर्थ र प्रचार विभाग मुख्य मानिन्छन्।

संगठन र विदेशमा एमाले तथा अर्थ र प्रचारमा माओवादीले प्रमुख लिने सहमती भएको छ। ३५ जना सदस्य रहने हरेक विभागमा २० जना पूर्व एमाले र १५ जना पूर्व माओवादीबाट रहने छन्।

प्रकाशित मिति: : 2019-07-17 17:27:58

प्रतिकृया दिनुहोस्