निगम र व्यवसायी पछि हटे, पेट्रोलियम ढुवानी नरोकिने

तस्बिरः बाह्रखरी

काठमाडौं । ढुवानीमा भ्याट लगाउनेबारे कार्यविधि बन्न कार्यदल गठन भएपछि पेट्रोलियम ढुवानीकर्ताले पनि आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । मंगलबार अर्थ मन्त्रालयले व्यवसायीसमेत सहभागी गराएर कार्यदल तयार गरेपछि साउन १ (आज) देखि ढुवानी बन्द हुने निर्णय फिर्ता भएको हो ।

बुधबार देशभरका स्थानीय पेट्रोलियम ढुवानी व्यवसायीलाई पत्र लेख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम पदार्थ ढुवानी जारी राख्न आग्रह गरेको छ । सरकारले ढुवानीकर्ता व्यवसायीको माग सम्बोधन गरेपछि व्यवसायी पछि हटेका हुन् ।

उनीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको आग्रह र देशभर बाढी र पहिरोले निम्त्याएको परिस्थितिलाई मध्यनजर गर्दै ढुवानी यथावत् सुचारु गर्ने निष्कर्षमा पुगेका हुन् । व्यवसायीले मन्त्री यादवले निजी क्षेत्रको समेत संलग्नता गराई भ्याट कार्यान्वयन कार्यदलले प्रतिवेदन नबुझाएसम्म निगममार्फत् प्रोडक्ट डेलिभरि अर्डर (पीडीओ) दिलाउने आश्वासन दिएका थिए । यसैअनुरुप निगमबाट पनि पूर्ववत् रुपमा पीडीओ उपलब्ध गराउने पत्र प्राप्तसमेत भइसकेकाले ढुवानी जारी राख्ने निर्णय गरिएको पत्रमा उल्लेख छ ।
यता नेपाल आयल निगमले पनि निगम पीडीओ रोक्ने पक्षमा रहेको बताएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बाह्रखरीसँग भने, “निगमजस्तो जिम्मेवारी निकायले आम सर्वसाधारणलाई मारमा पार्ने कुरा भएन । अत्यावश्यक वस्तुको अभाव सिर्जना गराउन मिलेन ।”

प्रकाशित मिति: : 2019-07-17 17:25:54

प्रतिकृया दिनुहोस्