नेकपामा विभागको भागबन्डा : संगठन र विदेश पूर्वएमालेलाई, पूर्वमाओवादीलाई आर्थिक र प्रचार

तस्बिरः अनलाइनखबर

१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टी एकीकरण सम्पन्न गर्ने गृहकार्यमा सहमति भए पनि केही विभाग र जिल्ला इञ्चार्जमा कुरा मिल्न बाँकी रहेको खुलेको छ । दुई अध्यक्षले माधव नेपाललगायतका नेताहरूसँग परामर्शपछि सचिवालय बैठकबाट टुंगो लगाउने सहमति भएको एक नेताले बताए ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली, प्रचण्ड, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलबीच छलफलपछि एकता र एकीकरणसँग सम्बन्धित सबै प्रक्रिया टुंगो लागेको बताइएको थियो । केही जिल्ला इञ्चार्ज र विभागमा थप छलफल आवश्यक भएको नेताहरूले बताएका छन् ।

कपाका सचिवालय सदस्यहरूले नेतृत्व गर्ने ठूला विभागहरूमध्ये पार्टी स्कुल विभाग कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । संगठन विभाग, विदेश विभाग, संसदीय विभाग र राज्य व्यवस्था विभाग पूर्वएमालेको भागमा परेका छन् ।

त्यस्तै, प्रचार विभाग र आर्थिक विभाग पूर्वमाओवादीको भागमा परेका छन् । ३२ वटा विभागमध्ये १८ विभागका प्रमुख पूर्वएमालेका नेता हुनेछन् भने १४ वटा विभागको नेतृत्व पूर्वमाओवादीले गर्नेछन् ।

पूर्वएमाले र पूर्वमाओवादीबीच विभाग बाँडफाँट भए पनि व्यक्ति आ–आफ्नो समूहबाट तोक्ने सहमति भएको बताइएको छ । पूर्वएमालेले नेतृत्व गर्ने विभागका प्रमुखको नाम ओलीले प्रस्ताव गर्ने र पूर्वमाओवादीबाट नेतृत्व गर्नेको नाम प्रचण्डले तोक्ने सहमति भएको छ ।

प्रकाशित मिति: : 2019-07-17 13:06:19

प्रतिकृया दिनुहोस्