उर्लाबारीमा मेयर र उपमेयरबीच द्धन्द्ध, प्रशासकीय अधिकृत काम छोडेर विराटनगर हिँडे

उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागो। बिएल

मेयर र उपमेयरबीचको द्धन्द्धका कारण मोरङको उर्लाबारी नगरपालिका अन्योलको भूमरीमा फसेको छ ।

एक महिनादेखि काम कारबाही ठप्प भइरहे पनि यसलाई सूचारु गर्ने विषयमा कुरा मिल्न सकेको छैन। मेयर र उप–मेयरबीचको द्धन्द्ध तथा दलिय स्वार्थमा अडिएर झाँगिएको आपसी विवादले सिंगो नगरपालिका अनिर्णयको बन्दी भएको भन्दै आलोचना हुन थालेको छ । मेयर खड्गबहादुर फागो र उपमेयर लक्ष्मीदेवी भण्डारी आफ्नै

अडानमा रहेपछि नगरपालिका लफडैलफडामा जकडिएको एक वडा अध्यक्षले बताए ।

मेयरले धम्की दिएको कारण देखाउँदै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी पनि त्यहाँबाट हिंडेपछि अर्को लफडा थपिएको छ। रेग्मीले उर्लाबारी छाडेपछि उनको क्वाटरमा नगर प्रमुख फागोले शुक्रबार ताला लगाइदिएका छन्। स्रोतका अनुसार नगर प्रमुख फागो र रेग्मीबीच सामान्य भनाभन भएको थियो। त्यसपछि असुरक्षित भएको भन्दै रेग्मी उर्लाबारी छाडेर विराटनगर आएका छन्। सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका छन्।

जो दाईजोको निहुँमा सासु ससुरा र श्रीमानबाट मरणासन्न हुने गरी कुटपिटको सिकार भइन् (भिडियोसहित)

प्रशासनले रेग्मीलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिइसकेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए। ‘शान्ति सुरक्षाको सवालमा परेको पत्रमा उल्लेख भएको व्यहोरा कार्यान्वयन गर्न प्रशासनले निर्देशन दिएको छ,’ उनले भने, ‘आवश्यक अध्ययन गरेर त्यसलाई कार्यान्वयन गरिनेछ ।’

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मेयर र प्रमुख प्रशासकीयबीच टेलिफोनमा भनाभन र विवाद भएको बताए । ‘सुरक्षाको माग गर्दै प्रशासकीयबाट परेको निवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिइएको छ,’ उनले भने । दुवै जनाले एकअर्काको कमजोरी देखाउने गरेको बताउँदै भुजेलले बाँकी कुरा प्रशासनकातर्फबाट बुझ्ने काम भइरहेको जानकारी दिए । अमर्यादित ढंगले प्रस्तुत हुँदै मेयरले ज्यान मार्ने धम्की दिएको गुनासो प्रशासकीयले गरेको उनले बताए । ‘मेयरले पनि आफूले ज्यान मार्ने धम्की नदिएको र कुनै अमर्यादित कुरा नगरेको बताउनु भएको छ,’ प्रजिअ भुजेलले भने, ‘प्रशासकीयलाई हामी सुरक्षा दिन्छौं ढुक्क भएर काममा फर्कनुस् भनेर निर्देशन दिइसकिएको छ ।’

यता विराटनगरमा रहेका रेग्मीले भने कार्यालयकै कामका सिलसिलामा आफू बाहिर रहँदा मेयरबाट दुव्र्यवहार भोग्नु परेको गुनासो गरे । मन्त्रालयले मागेको कागजात पठाएको विषयलाई लिएर आफूलाई अपशब्द प्रयोग गरेर गाली गर्दै ज्यान मार्ने धम्की दिएको उनको गुनासो छ । रेग्मीले नगरपालिकाको सवालमा उच्च अदालतले दिएको आदेश सम्बन्धी पत्र आफूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको बताए । उनले मेयर फागोले कर्मचारीमाथि निरंकुश शैली लाद्ने गरेको आरोप पनि लगाए ।

देशले बिर्सिएको कालापानीका सहिद प्रेमसिंह धामी

मेयर फागोले भने केही दिनदेखि जानकारी नै नगराइकन कार्यालयमा अनुपस्थित रहेको र विदा स्वीकृत समेत नगराएका कारण त्यस विषयमा बुझ्न खोज्दा रेग्मी उल्टै गालीगलौजमा उत्रिएको बताए। ‘रेग्मीले उर्लाबारी नै छाडेका कारण आवस गृहमा केही महत्वपूर्ण सरसामान भएकाले ताला लगाएर सुरक्षित गरिएको हो,’ फागोले भने, ‘त्यहाँ नगरपालिकाको सम्पत्ति रहेका कारण त्यसको सुरक्षाका लागि पनि ताला लगाउनु प¥यो ।’ उनले कार्यालय आउन निर्देशन दिंदा उल्टै ठूला कुरा गरेर प्रशासकीय नै गालीगलौजमा उत्रिएको बताए । ‘रेग्मी जहाँ गए पनि विवाद झिक्ने कर्मचारी रहेछन्,’ मेयर फागोले भने, ‘आजसम्म गएका सबै जसो कार्यालयमा विवादित छवि प्रदर्शन गरेर हिंड्ने गरेको पाइयो ।’

यता मेयर–उपमेयर द्धन्द्धले नगरपालिका भने एक महिनादेखि ठप्प छ । जन्म, मृत्यु र विवाह दर्ता बाहेक शुल्क लिएर गरिने सबै काम ठप्प छन् । नगरपालिका ठप्प हुँदा सेवाग्राहीले ठूलो सास्ती बेहोर्नु परेको उर्लाबारीका शिक्षक लेखनाथ खड्काले बताए । ‘यहाँ जुँगाको लडाँइमा जनप्रतिनिधि लागेको पाइयो,’ उनले भने, ‘त्यसको प्रत्यक्ष मारमा भने सर्वसाधारण जनता परिरहेका छन् ।’ जनताको पीडा बुझेर तत्काल नगरपालिका सूचारु गर्न खड्काको आग्रह छ ।

फागो कांग्रेस र भण्डारी तत्कालिन एमालेबाट निर्वाचित हुन् । कोरम नपुर्याइकन नगरसभा बोलाएको विरोधमा उपमेयर भण्डारीसहित १३ जना नगर कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतले गत साउन २७ गते नगरसभाको निर्णय कार्यन्यव नगर्न आदेश दिएपछि नगरको काम हालसम्म सूचारु हुन सकेको छैन । जसको प्रत्यक्ष मारमा सर्वसाधारण सेवाग्राही परेका छन् ।

जेरो भूमे : प्रदेश ५, भूमेका सांस्कृतिक झलकहरू (भिडियोमा)

१९ जना कार्यपालिका सदस्य मध्ये फागोसहित नेपाली कांग्रेसका ६ जना सदस्यले निर्णय गरेर गत असार २९ गते चौथो नगरसभा डाकेपछि भण्डारी पक्षधरले बहिस्कार गरेको थियो । नगर कार्यपालिकामा सत्तारुढ नेकपाका १३ सदस्यसहित बहुमत रहे पनि कांग्रेसबाट निर्वाचितहरुले अल्पमतमा हुँदाहुँदै एकलौटी निर्णय गरेको दाबी गर्दै नेकपाबाट निर्वाचितहरु विरोधमा छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम सुचारु गर्न एक महिनापछि बिहीबार मन्त्रीस्तरिय निर्णयबाट निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनपछि थप अन्योल सिर्जना भएको छ । अदालतको आदेशले काम ठप्प भइरहँदा काम सुचारु गर्न निर्देशन दिएर मन्त्रालयको निर्देशन आएसँगै अन्योलता उत्पन्न भएको एक वडा अध्यक्षले बताए । उनकाअनुसार अदालतको फैसला नहुँदासम्मको लागि भन्दै मन्त्रालयबाट तेस्रो नगरसभाका आधारमा काम सुचारु गर्न लिखित निर्देशन प्राप्त भएको छ । तर शुक्रबार पनि उर्लाबारी नगरपालिकाको सेवा ठप्प रहयो ।

मेयर फागोले मन्त्रालयको निर्देशनपछि कार्यपालिकाको बैठक बोलाइएर काम सूचारु गर्ने प्रयास गरेका थिए । तर शुक्रबार साँझ बसेको बैठक बिना निस्कर्ष टुँगियो । ‘मन्त्रालयको निर्देशन र अदालतको आदेशका सवालमा कसरी अघि बढ्ने भन्ने छलफल बैठकमा गर्न खोजिएको थियो,’ फागोले भने, ‘मन्त्रालयलाई अटेर र अदालतको मानहानी गरे जस्तो पनि नहुने गरी अघि बढ्न सक्ने आधार खोज्ने प्रयास असफल भयो ।’

गायक मिलन लामा भन्छन्- गीत संगीतको बजार सँधै उस्तै हुँदैन

कार्यपालिका बैठकमा कुनै निस्कर्ष ननिस्किएपछि मन्त्रालयको निर्णय कार्यान्वयन नहुने देखिएको छ । मेयर फागोले मन्त्रालयको निर्देशनलाई कार्यपालिका बैठकबाट निर्णय गरेर जान प्रस्ताव गरेका थिए । तर त्यसमा उपमेयर भण्डारीसहितले मेयर एक्लैले निर्देशन गर्न सक्ने भन्दै प्रस्ताव अस्वीकार गरेपछि बैठक त्यत्तिकै सकियो । 

भण्डारीले ऐनमा मेयर एक्लैले निर्देशन दिन सक्ने व्यवस्था रहेका कारण बैठकले निर्णय गर्न आवश्यक नरहेको दाबी गरिन् ।

उनले मन्त्रालयको निर्देशन मेयर आफैले पालना गर्न गराउन सक्ने बताइन् । उपमेयर भण्डारीले लामो समयदेखि सबै काम कारबाही ठप्प हुँदा जनताले भने ठूलो दुःख पाएको बताइन् । नगर प्रवक्ता भानुभक्त शर्मा पराजुलीले मन्त्रालयको निर्देशनलाई कार्यपालिका बैठकबाट निर्णय गरेर जाने विषयमा सहमति हुन नसकेको बताए ।

मेयर फागोले आर्थिक विषयको कुरा भएकाले एक्लै निर्णय गर्न गाह्रो पर्ने भएकाले मन्त्रालयबाट आएको निर्देशन पालना गर्दै सेवा सूचारु गर्न डाकिएको बैठकमा जनप्रतिनिधिबीच नै कुरा नमिलेको बताए ।

प्रकाशित मिति: : 2019-09-13 19:33:28

प्रतिकृया दिनुहोस्