पूर्वउपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर

नागरिक

धरान– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा. बीपी दाससहित ८ जनामाथि बिशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विभिन्न उपकरण(वस्तु) तथा सेवा खरीदमा भ्रष्टचार गरेको दाबीसहित बिशेष अदालतमा उनीहरुविरुद्ध आरोप पत्र दायर गरेको हो। प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुले प्रचलित ऐन, नियम विपरीत वदनियतपूर्वक गैरकानुनीरुपमा आर्थिक लाभ लिएर सप्लायर्स तथा व्यक्तिगतरुपमा आफुलाई फाइदा पुर्याएको र प्रतिष्ठानलाई हानी नोक्सानी पुर्याएर करोडौ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। गएको बिहिबार मात्र प्रतिष्ठानका वहालवाला उपकुलपति डा.राजकुमार रौनियार र उनका भतिजलाई अख्तियारले घुस लिएको ८ लाख रुपैयाँसहित प्रतिष्ठानबाटै पक्राउ गरेको थियो।

अख्तियारले प्रतिष्ठानका तत्कालीन उपकुलपति डा.बलभद्र प्रसाद(विपी)दास, तत्कालीन अस्पतालका निर्देशक डा.अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको जनाएको छ। यी ४ मध्ये तुलबहादुर श्रेष्ठ वहालवाला रजिष्ट्रार हुन्। पुर्वउपकुलपति डा.दास र पूर्व अस्पताल निर्देशक डा. सिन्हा अहिले पनि प्रतिष्ठानमा कार्यरत छन्। दास प्रतिष्ठानको फार्माकोलोजीका प्राध्यापक हुन् भने सिन्हा प्याथोलोजी विभागको प्राध्यापक हुन्। पूर्वरजिष्ट्रार थापा प्रतिष्ठान बाहिरबाट नियुक्ति भएका थिए।

आयोगका अनुसार पूर्वउपकुलपति डा. दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ, पूर्व अस्पताल निर्देशक डा.सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय ११ रुपैया, पूर्व रजिष्ट्रार थापाले १ करोड ९६ लाख ९ हजार ८ सय ८० रुपैया र वर्तमान रजिष्ट्रार श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय ५ रुपैया अस्वाभाविक रुपमा बढी मूल्य तिरेर सामान खरीद गराएर प्रतिष्ठानलाई नोक्सानी पुर्याएका थिए। उनीहरुले वस्तु तथा सेवा खरीद गर्दा न्यु कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा सम्झौता गरी भुक्तानीसमेत दिएको अख्तियारको आरोपत्रमा उल्लेख छ। अख्तियारले नोक्सान पुर्याए बराबर रकम बिगो माग दाबी गरेको छ।

प्रकाशित मिति: : 2019-07-16 09:01:11

प्रतिकृया दिनुहोस्