आइजीपी खनालले बिमस्टेक बैठकमा अनुमोदन गरेको विषय सरकारद्वारा अस्वीकृत

तस्बिरः नेपालखबर

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को राष्ट्रिय सुरक्षा प्रमुखहरुको बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालको परराष्ट्र नीति उल्लंघन गर्दै राखेको मतलाई सरकारले अस्वीकृत गरिदिएको छ।

२०७५ चैत ७ गते बैंककमा भएको बैठकमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले ‘पाकिस्तानलाई आतंककारी संरक्षक राष्ट्र’ भन्नुपर्ने प्रस्ताव अघि सारेका थिए। आइजीपी खनालले त्यसलाई अनुमोदन गरेका थिए।

उनले अनुमोदन गरेको बुँदा सरकारले आफ्नो अंग बनाउन अस्वीकार गरेको हो।

गृह र परराष्ट्रका अधिकारीहरू महानिरीक्षक खनालले अनुमोदन गरेको विषय नेपालको परराष्ट्र नीतिविपरित हुने देखिएकाले सरकारको अंग बनाउन नसकिने निष्कर्षमा पुगेका हुन्। दुवै मन्त्रालयका अधिकारी सहमत भएसँगै परराष्ट्र मन्त्रालयमार्फत् सो बुँदा ‘त्याग्न’ बिमस्टेक सचिवालयलाई पत्राचार गरिएको गृह स्रोतले नेपालखबरलाइ बतायो।

ढाकास्थित बिमस्टेक सचिवालयले डोभालले राखेको  ‘भारत शासित कस्मिरको पुलवामा २०७५ फागुन २ गते पाकिस्तान समर्थित आतंकवादीले हमला गरे’ भन्ने प्रस्तावमा नेपालले समर्थन जनाएकाले सरकारबाट अनुमोदनका लागि पत्राचार गरेको थियो।

गृहले दुई महिनाभन्दा बढी समय लगाएर अध्ययन तथा विज्ञहरुसँग छलफल गरेपछि महानिरीक्षक खनालले गरेको गल्ती सच्याउँदै सो बुँदा ‘त्याग्ने’ निष्कर्ष निकालेको हो। ‘हामीले परराष्ट्रलाई पत्र लेख्दै सम्बन्धित बुँदा हटाउन भनेका छौं,’ गृह स्रोतले सोमबार नेपालखबरसँग भन्यो,‘बैठकमा सहभागी नेतृत्व (आइजीपी खनाल) ले गरेको गल्तीका विषयमा अझै अनुसन्धान जारी छ।’

प्रकाशित मिति: : 2019-07-15 18:50:29

प्रतिकृया दिनुहोस्