कम्युनिष्ट एक नभए विकास असम्भव: पूर्वप्रधानमन्त्री खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार नेकपा इलामले इलाम सदरमुकाममा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अभिवादन गर्दै । तस्बिरः टीका खतिवडा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई आवश्यकता परेकै कारण दुई ठूला शक्ति (एमाले र माओवादी केन्द्र)बीच एकता भएको बताएका छन्।

समान विचारधारा भएका शक्तिहरू फरक सङ्गठन र पार्टीमा रहँदा मुलुकको आवश्यकता पूरा नहुने भएपछि पार्टी एकता भएको खनालले जिकिर गरे। उनले सबै कम्युनिष्ट एक नभएमा मुलुकमा विकास सम्भव नहुने बताए।

गृह जिल्ला इलाममा शुक्रबार पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिँदै वरिष्ठ नेता खनालले पुष्पलालले पार्टी निर्माण गरेको ५६ वर्षपछि मात्र एकता भएर एक ठाउँ आइपुगेको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले निर्वाचन पद्धति महँगो भएकाले परिवर्तन गर्नुपर्नेसमेत विचार व्यक्त गरे।

निर्वाचन प्रणाली महँगो हुँदा सामान्य व्यक्तिले चुनाव लड्न नसक्ने अवस्था सिर्जना भएको बताए।

‘अधिनायक भन्नेहरु संविधान पढ्नुहोस्’

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान सरकारलाई अधिनायकवादी र लोकतन्त्र विरोधी भन्नेलाई संविधान पल्टाएर पढ्न सुझाव दिएका छन्। आफ्नै नेतृत्वले निर्माण गरेको संविधान आफैँले ‘कुल्चन’ नसक्ने भन्दै नेम्वाङले संविधानको मर्म र भावना बाहिर कोही पनि जान नसक्ने स्पष्ट पारे।

संविधानले सबै पक्षको भावना समेटेर अघि बढेको भन्दै नेम्वाङले यसबारेमा औँला उठाउनु नपर्ने बताए। नेम्वाङले कम्युनिष्ट नेतृत्वमा नभएको भए संविधान निर्माण नहुने बताए। उनले मुलुकमा विभिन्न समयमा भएका आन्दोलनको प्रतिफलसमेत संविधानले दिएको बताए। नेम्वाङले मुलुक स्थिरता र विकासको ढोका मानिने संविधान निर्माण गर्ने काम कम्युनिष्ट नेतृत्वकै कारणमात्र सम्भव भएको जिकिर गरे। उनले भने, 'सबै दललाई एक बनाउने काम हामीले नै गर्‍याौं।'

प्रकाशित मिति: : 2019-09-13 18:45:18

प्रतिकृया दिनुहोस्