बजेट अन्योल : कुमारी घर अझै टेकोमा

जीवित देवी कुमारी बस्ने घर बजेट अन्योलको शिकार भएको छ। काठमाडौं दरबार क्षेत्रमा रहेको उक्त कुमारी घर अझै टेकोमा अडेको छ।

२०७२ को भूकम्पपछि प्रायः नेपालीले आफ्नो घर बनाइसके पनि जीवित देवी कुमारी तथा कुमारीका चिताइदार परिवार भने अझै टेकोले थामेको घरमा बस्न बाध्य छन्।

कुमारी घरमा कुमारीको रेखदेख गर्न चिताइदार परिवार बस्ने परम्परा छ। चिताइदार परिवारका गौतम शाक्य भन्छन्, ‘कुमारी जात्रामा राष्ट्रपति आउनुपर्ने यो घरमा अझै सरकारको ध्यान पुगेको छैन।’

आकर्षक काष्ठकलायुक्त कुमारी घरको बाहिरपट्टि उत्तरी मोहडामा ४ वटा र पूर्वी मोहडामा ७ वटा टेका अझै छन्। त्यसैगरी, कुमारी घरभित्र पनि यसरी नै टेका राखिएका छन्।

२०७२ को भूकम्पको करिब १ महिनापछि कुमारी घरमा टेको हालिएको थियो। त्यस बेला राखिएकामध्ये ५÷७ वटा टेका हटाइएका छन्।

 

कुमारी घरको पुनर्निर्माण वा जीर्णोद्धारको जिम्मेवारी गुठी संस्थानको हो। गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार कुमारी घरको डिजाइन र इस्टिमेट पुनर्निर्माण प्राधिकरणमा पठाइएको बताउँछन्। उनी भन्छन्, ‘गुठी संस्थानसँग कुमारी घरको जीर्णोद्धारका लागि पैसा छैन।’

‘कुमारी घरकै लागि भनेर कुनै बजेट छुट्याइएको जानकारी छैन,’ पुनर्निर्माण प्राधिकरणका पुरातत्त्व अधिकृत भीष्म बास्कोटा भन्छन्, ‘यस विषयमा अर्थ मन्त्रालयबाट प्राधिकरणलाई कुनै पत्राचार भएको छैन।’

चिताइदार परिवारका गौतम शाक्यले काठमाडौँ महानगरपालिकासँग पनि कुमारी घरको जीर्णोद्धारका विषयमा कुरा गरेका थिए। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘हामीले (काठमाडौं महानगरपालिकाले) नै कुमारी घर बनाउनुपर्ला’ भनेको उनी स्मरण गर्छन्।

प्रकाशित मिति: : 2019-07-12 10:08:53

प्रतिकृया दिनुहोस्