पूर्वमन्त्री जोशीको मुद्दा : हराएको भनिएको फाइल अख्तियारले सर्वोच्च पठायो

तस्बिरः नेपाल न्यूज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग ठहर भएका गोविन्दराज जोशीसम्बन्धी सम्पूर्ण फाइल सर्वोच्च अदालतमा बुझाएको छ।

जेठ २३ गते न्यायाधीशद्वय ईश्‍वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेका जोशीसहित ६ जनाविरुद्ध परेको मुद्दामा दिएको आदेशअनुसार अख्तियारले मगाइएका सम्पूर्ण कागजात सर्वोच्चमा उपलब्ध गराएको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले सर्वोच्चबाट माग भएका सम्पूर्ण कागजात पठाइसकिएको जानकारी दिए। ‘सर्वोच्च अदालतले मगाएका कागजात हामीले पठाइसकेका छौं, अदालतले दिएको समयभित्रै उक्त कागजात पठाइएको हो,’ उनले नेपालन्युजसँग भने।

सर्वोच्चले अनुसन्धान अधिकृत नियुक्तिका बेला उठेको टिप्पणीको कागजात झिकाउन आदेश गरेको थियो। ‘टिप्पणीको मिसिलसहित मुद्दा शाखाले सर्वोच्चबाट माग भएबमोजिम सम्पूर्ण कागजात पठाएको छ,’ उनले भने।

अकुत सम्पत्ति आर्जन गरे भ्रष्टाचारमा मुछिएका कांग्रेस पूर्वसहमहामन्त्री तथा पूर्वमन्त्री जोशीसहित ६ जनामाथिको मुद्दामा बिहीबार सर्वोच्चमा सुनुवाइ हुँदैछ। आजको पेसीमा अख्तियारबाट प्राप्त मिसिल पेस गरिने छ।

सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा जोशीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दा सुनुवाइ हुनेछ।

जोशीमाथि २०६९ पुस ६ मा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा परेको थियो। कांग्रेसका पूर्वसहमहामन्त्री जोशीले गृह, शिक्षासहितका महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए।

प्रकाशित मिति: : 2019-07-11 13:57:28

प्रतिकृया दिनुहोस्