माउन्टेन एभरेष्ट ब्रुअरीले उत्पादन लुकाउँदै झन्डै साढे ४ करोड कर छली गरेको पुष्टि

नेपाल लाइभ

काठमाडौं– माउन्टेन एभरेष्ट ब्रुअरीले उत्पादन लुकाउँदै झन्डै साढे ४ करोड रुपैयाँ कर छली गरेको पुष्टि भएको छ।

ललितपुरस्थित ठूला करदाता कार्यालयले केही समय अगाडि उद्योगमा छापा मार्दैै सो सम्बन्धमा अध्ययन गरेको थियो। अध्ययनका क्रममा एभरेष्ट ब्रुअरीले उत्पादित बियर तथा कच्चा पदार्थको परिमाण कम देखाउँदै कर छली गर्दै आएको फेला परेको ठूला करदाता कार्यालय स्रोतले जानकारी दिएको छ।

एभरेष्ट ब्रुअरीलले अन्तःशूल्कतर्फ ३ करोड  ३८ लाख र  भ्याटतर्फ १ करोड १६ लाख गरी कूल ४ करोड ५४ लाख रुपैयाँ कर छली गरेको फेला परेको कार्यालयको भनाइ छ।

कार्यालयले एभरेष्ट ब्रुअरीलाई छली भएको कर बराबरको रकम दाखिला गर्न पत्राचारसमेत गरिसकेको जनाएको छ। पत्र बुझे पनि ब्रुअरीले ठूला करदाता कार्यालयबाट कर छली भएको भनि प्रमाणित भएको रकम भने बुझाएको छैन। ब्रुअरी प्रशासकीय पुनरावलोकनमा गइसकेको समेत कार्यालयको भनाइ छ।

एभरेष्ट ब्रुअरी उद्योगमा छापा मार्दा कार्यालयले कम्पनीले उल्लेख गरेको सञ्चित परिणामभन्दा कच्चा पदार्थ ३ हजार ४ सय १४ केजी र चीनी १ हजार ५ सय ५९  केजी कम परिमाणमा फेला पारेको थियो। यसैगरी उद्योगले उत्पादनतर्फ कार्यालयमा पेस गरेको ११ हजार ६ सय १५ वटा बियरका बिर्को कम परिमाणमा फेला पारेको जनाइएको छ।

प्रकाशित मिति: : 2019-07-11 12:02:41

प्रतिकृया दिनुहोस्