सात आदेशपछि काठमाडौं अदालतको ठहर: चिम्पु–चम्पा चिम्पान्जी नै हुन्

सदर चिडियाघरमा २०७४ असोजदेखि शरणार्थी जीवन बिताईरहेका एकजोडी चिम्पान्जी चिम्पु–चम्पालाई काठमाडौं जिल्ला अदालतले मुद्दा दर्ता भएको १९ महिनापछि लिखित रुपमा उनीहरु ‘चिम्पान्जी’ प्रजातीको भएको प्रमाणित गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोकाे अनुसन्धान प्रतिवेदनपछि जिल्ला वन कार्यालय काठमाडाैंले सरकारी वकिल मार्फत २०७४ मंसिर २९ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

ब्युरोले संगठित अपराधमा दुई महिना लामो अनुसन्धानमा चिम्पु–चम्पा नामाकरण गरेर दुबैको जन्मस्थान देखि तस्करीगरि काठमाडौं आईपुगेको प्रमाण पेश गरेको थियो।

न्यायाधीश अम्बरराज पौडेलले जेठ २९ मा विशेषज्ञ बुझ्ने आदेश गरेका थिए। उनको आदेश अनुसार नेपाली विज्ञहरुले चिम्पु–चम्पालाई चिम्पान्जी भएको लिखित गरेको अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए। उनका अनुसार असार ३१ का लागि अर्को पेशी तोकिएको छ। यो चिम्पु–चम्पाको मुद्दामा तोकिएको १६ औं पेशी हुनेछ।

‘उनीहरु चिम्पान्जी हुन कि होइनन भनेर विशेषज्ञसँग बुझ्ने काम भयो,’ श्रेष्तेदार श्रेष्ठले मंगलबार नेपालखबरसँग भने ‘विज्ञहरुले चिम्पान्जी नै भएको प्रमाणित गरिदिनु भएको छ।’ उनका अनुसार अदालत अब फैसलाको चरणमा पुगेको छ।

तत्कालिन न्यायाधीश राजेन्द्र नेपालले २०७५ असार ३१ मा साक्षी बुझ्ने आदेश गरेका थिए। त्यसपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासमा चिम्पु–चम्पाको मुद्दाको न्याय सम्पादन भइरहेको हो। 
नाइजेरियाको जंगलबाट तस्करहरूले बलजफ्ती पक्रेर काठमाडौं ल्याएका चिम्पु र चम्पा घर फर्कने कि नर्फकने भन्ने बिषय समेत अदालतबाट फैसला नहुँदा रोकिएको छ।

प्रकाशित मिति: : 2019-07-10 16:16:33

प्रतिकृया दिनुहोस्