१० कठ्ठाभन्दा बढी सरकारी जग्गा अतिक्रमण गरेको भन्दै बुटवलको टाइगर प्यालेस रिसोर्टमाथि मुद्दा

तस्बिरः नेपाललाइभ

भैरहवा- रुपन्देहीमा सञ्चालित पाँच तारे टाइगर प्यालेस रिसोर्ट (टाइगर वान प्रालि) ले सरकारी जग्गा अतिक्रमण गरेको दाबी गरिएको छ। रिर्सोटले सरकारी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै रिर्सोटविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१३ मा रहेको रिसोर्टले भैरहवा-लुम्बिनी भूमिगत जल परियोजना (भैलुभुज)को करिब १० कठ्ठाभन्दा बढी जग्गा (सार्वजनिक कुलो तथा नहर) अतिक्रमण गरी संरचना निर्माण गरेको दाबी गरिएको छ।

तत्कालीन भैलुभुज परियोजनाअन्तर्गत नलकुप जल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले सरकारी सम्पत्तिमा निर्मित संरचना भत्काई सरकारी सम्पत्तिको संरक्षण गरी पाऊँ भनी मुद्दा दायर गरेका हुन्।

रिसोर्टले रुपन्देहीको साविक टिकुलीगढ ९ ‘घ’ (हाल तिलोत्तमा नगरपालिका-१३)को कित्ता नम्बर १२०, १४८, १५२ र १९० का नलकुप नहरको सार्वजनिक जग्गा र कित्ता नम्बर ७३ को सरकारी जग्गालाई समेत कम्पाउन्डभित्र राखेर होटल संरचना निर्माण गरी भोगचलन गर्दै आएको दाबी रिटमा उल्लेख गरिएको छ।

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई छुट दिएमा भविष्यमा सबै सार्वजनिक जग्गा अतिक्रमण हुने हुदाँ सार्वजनिक जग्गाको संरक्षणको लागि मुद्दा दायर गरिएको नलकुप जल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष घिमिरेको भनाइ छ।

उनले रिटमा उल्लेख रहेको बाहेक थप कित्ताको जग्गा पनि रिसोर्टले अतिक्रमण गरेको पाइएकोले त्यसका लागि पनि अदालतमा निवेदन दिइने बताए। उनका अनुसार रिसोर्टले पश्चिमदेखि पूर्व जाने नहर र दक्षिणदेखि पूर्व जाने शाखा नहरको जग्गा अतिक्रमण गरिएको छ।

शुक्रबार मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै जिल्ला अदालत रुपन्देहीको एक नम्बर इजलासका न्यायधीश नरिश्वर भण्डारीले प्रतिवादीको नाममा 'मुलुकी देवानी कार्यविधी संहिता, २०७४' को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरेका छन्।

प्रकाशित मिति: : 2019-07-10 09:25:34

प्रतिकृया दिनुहोस्