सपनाहरूको सफर

राजनीतिक यात्राका अविराम ‘इश्तियाक’

BreaknLinks
BreaknLinks

स्कुले जीवनको चञ्चलतासँगै सबको जीवनमा हजार सपनाहरू दौडिरहेका हुन्छन्। जब उच्च शिक्षाको बाटो तय हुन्छ अनि जिन्दगीका लक्ष्यहरू उसैगरी सल्बलाउन थाल्छन्।

लक्ष्य कतिपयका आफ्नै हुन्छन्, कतिपय सपनाहरू अरूका। उनीसँग पनि त्यस्तै सपनाहरू थिए, उस्तै लक्ष्यहरू थिए। कति आफ्नै थिए, कति अरूका थिए। गाँसिएका त्यस्तै सपनाहरूमा अलमलिँदै उनले आइएस्सी सक्काएका थिए।

घर परिवार चाहन्थ्यो उनी डाक्टर बनुन्। नजानिँदो तरिकाले आफन्तका ती सपनाहरूलाई उनले आफ्नै लक्ष्य बनाउँदै थिए। बिएस्सी पढ्न भारत गएका उनी २०५६ सालमा फर्किए। कारण थियो, बुवाको उम्मेदवारी।

२०५६ सालको निर्वाचनमा सांसद हुनका लागि तत्कालीन बाँके क्षेत्र नं ३ बाट ‘स्वतन्त्र’ उम्मेदवारी दिएका बुवाको चुनावी अभियानमा सघाउन उनी परीक्षा छोडेर आए।

पटक–पटक वडाअध्यक्ष तथा राप्रपा नेपालबाट पहिला पनि जिल्ला विकास समितिका सदस्य भइसकेका उनका बुवा २०५६ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। चुनावमा खटिए। आखिर चुनाव लड्ने भनेकै जित्नका लागि हो। तर सबैले जित्दैनन्। त्यो समयमै मुस्लिम समुदायबाट एमएसम्म अध्ययन गरेका उनका बुवा मुहैयुद्दीन राईले पनि चुनाव जितेनन्।

बुवालाई जिताउनका पढाइ छोडेर घर फर्केको एउटा तन्नेरी। डाक्टरी जीवनका लागि पछ्याइरहेका पाइलाहरू उनले यतै बिसाए। र, पूर्णकालीन राजनीतिमा होमिए। ती उनै तन्नेरी थिए, जो अहिले बाँके क्षेत्र नं २ बाट चौथोपटक चुनावी मैदानमा होमिएका छन्– मोहम्मद इश्तियाक राई।

एकाएक फेरिएको लक्ष्य, झन् अलमलिएका सपनाहरू। राजनीतिमा लागेका बुवाको सपना थियो– छोरो डाक्टर बनोस्। तर बुवाको त्यही राजनीतिक मैदानमा सफर गरिसकेका इश्तियाकले अब आफ्नै जीवनलाई त्यही मैदानमा दौडाउन चाहन्थे। सपनाहरू फेरि बाझिन थाले।

महिनौंसम्म त बाउछोराको बोलचाल नै बन्द भयो। आफैँले देखाएको बाटो थियो, आफ्नै मैदान थियो। बाझिएका ती सपनाहरू विस्तारै सबको साझा हुन थाले। बिएस्सी पढिरहेका इश्तियाकले अब राजनीतिक बाटो नै रोजे। विज्ञानका ठेलीहरू छोडेर उनले फेरि राजनीतिक शास्त्रका पुस्तकहरू समाए।

बाटो मोडिइसकेको थियो। पैसाको लागि राजनीति होइन, इश्तियाकलाई थाहा थियो बरू राजनीति गर्न पैसा चाहिन्छ। पुर्ख्याैली सम्पत्ति त पहिलादेखि नै थियो।

नेपालगन्जको धम्बोझीमा २०३६ कात्तिक १६ गते जन्मिएका इश्तियाकका हजुरबुवा बर्दियाका जमिन्दार थिए। त्यो बेलै बर्दियाका सयौं विघा मलिला फाँटहरू उनीहरूकै थिए। उनीहरूको पुर्ख्याैली घर भने तत्कालीन साईगाउँ गाविसमा थियो। त्यही मलिला फाँटमा त्यो बेलै आधुनिक तरकारी खेती गर्ने उनका हजुरबुवा इस्माइल राईको नाम विस्तारै फेरिन थाल्यो र उनी ‘किसान’ नामले चिनिन थाले।

सयौं विघामा खेती गर्ने उनलाई अहिले पनि पुराना मान्छेहरू ‘किसान’ भनेरै चिन्छन्। तर यता इश्तियाकका सपना र लक्ष्यहरू फेरिइसकेका थिए। अब राजनीतिको मैदनमा उनका पाइलाहरूले गति समाउन थालिसकेका थिए।

पूर्णकालीन राजनीति गर्नका लागि अब उनलाई पैसाको जोहो गर्नु थियो। र, त्यही बेलै उनले घरबाट पैसा मागेर एउटा व्यापारिक फर्म खोले– सादाब एण्ड कम्पनी।

‘मैले पैसा कमाउनको लागि राजनीति गरेको होइन। बरू राजनीति गर्नका लागि व्यापार व्यवसाय गरेको हुँ’, उनी भन्छन्। धनसम्पत्ति त उनलाई कमी कहाँ थियो र!

भन्छन्, ‘पुर्खाको सम्पत्ति जत्ति पनि थियो, अहिले पनि छ। तर मैले राजनीति गर्नकै लागि आफैँले व्यवसाय सुरु गरेको हुँ। राजनीति गरेर पैसा कमाएको होइन। त्यस्तो गर्ने पनि छैन।’

२०५६ सालमै नेपालगन्जमा खुलेको यो कम्पनीले त्यतिबेला विभिन्न देशहरूबाट खाद्यान्न र विदेशी सामानहरू आयात-निर्यात गर्थ्याे। र, यो त्यही कम्पनी हो, जसले नेपालगन्जबाट पहिलोपटक देशैभरी विद्युतीय रिक्साहरू भित्र्यायो।

प्याडल ठेल्दै मान्छे र सामान ओसार्ने रिक्साहरू एकाएक हराए। हातखुट्टामा ठेला पारेका रिक्सावालहरूले अब विजुलीबाट गुड्ने रिक्सा सडकमा दौडाउन थालेका छन्।

‘बुवाको त्यो राजनीतिक दीक्षा थियो। उहाँहरूले त भन्नुभएको थिएन। बुवा हजुरबुवा त्यो बेला नै जमिन्दार हुनुहुन्थ्यो। पैसाको कमी थिएन’, तर पनि इश्तियाकलाई लाग्थ्यो, ‘राजनीति गर्न त आफैँले पहिला पैसा पनि कमाउनुपर्छ। अनि कम्पनी खुल्यो। व्यापार पनि चल्न थाल्यो।’

राजनीति : उही यात्रा तर फेरिएको बाटो

२०४६ सालको परिवर्तनले पनि देशको राजनीतिक अवस्था फेरिएको थिएन। ३० वर्षे पञ्चायत ढलिसकेको थियो। त्यसपछि पनि पञ्चहरू जुट्दै अनि फुट्दै थिए। अरू दलहरूको अवस्था पनि उस्तै थियो। बहुदलीय व्यवस्था। दलहरूको आपसी द्वन्द्व त स्वाभाविकै थियो, एउटै पार्टीभित्र पनि आन्तरिक युद्ध चर्किन्थ्यो। टुटफुटको सिलसिला चलिरहेकै थियो।

इश्तियाकको परिवार पनि राप्रपाको राजनीतिक वातावरणमा उभिएको थियो। सायद त्यसैको प्रभाव थियो, इश्तियाक २०५१ सालमै राप्रपाको गाउँ इकाइमा सदस्य भए। त्यसपछि गाउँ कमिटीको अध्यक्ष नै भए।

राजनीति त लागिसकेको थियो। पार्टी अनि संगठनमा उनले आफ्नै जिम्मेवारी बढाउँदै लगे। केही समयपछि उनी राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला नेता तथा बाँके निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सचिव भए।

दिनहरू बित्दै गए। समय पनि फेरिँदै गयो। देशमा फेरि अर्को राजनीतिक उथलपुथल सुरू भइसकेको थियो। माओवादीको सशस्त्र युद्धले देशको राजनीतिलाई फेरि अन्योलग्रस्त बनाइसकेको थियो। २०५८ सालको मंसिर ११ गते देशभरि संकटकाल लाग्यो। के गर्ने कसो गर्ने, कसैले केही भेउ पाइरहेका थिएनन्। सारा जनता मौन थिए। राजनीतिक दलहरूभित्र खैलाबैला थियो।

त्यसको एक वर्षपछि अर्थात् २०५९ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले देशको शासनसत्ता फेरि आफ्नै हातमा लिए। राजनीतिक दलका ठुला नेताहरूको गिरफ्तारी र नजरबन्द सुरू भयो। माओवादी र सेनाबीचको लडाइँ झन् चर्किरहेको थियो। आम नागरिक ती दुईबीच नराम्रोसँग च्यापिएका थिए। सारा देश राजनीतिक निकासबिना आफैँ चपेटिएको थियो।

माओवादीको डर उस्तै थियो। अर्कोतिर तत्कालीन शाही सेना झन् उन्मत्त थियो। सारा नागरिक आफ्नै थातथलो छोडेर सुरक्षित सहर खोज्दै थिए। 
इश्तियाकको परिवार पनि नेपालगन्जबाट विस्थापित भएर नजिकैको भारतीय सहर रुपडियामा शरण लिन पुग्यो। पुर्ख्याैली घरमा ताला लाग्यो। 
इश्तियाक पनि विस्थापित भएर नेपालगन्ज–१५ स्थित भन्सार टोल पुगे। अहिले पनि उनी त्यही घरमा बसिरहेका छन्।

समय बित्न त कति नै बेर लाग्छ र! जनताको उकुसमुकुस अब सडकमा पोखिन थालिसकेको थियो। २०६२ सालको अन्त्यसँगै सडकमा ओर्लिएका नेपाली जनताले २०६३ वैशाख ११ मा आखिर आफ्ना अधिकारहरू फेरि स्थापित गरिछोडे।

सडकमा ओर्लिएका राजनीतिक दलहरूले त्यत्तिञ्जेल जंगल पसेको माओवादीलाई पनि आफ्नै साथ लगाइसकेका थिए। आम नागरिकले ढाकिएको सडकका अघि राजाले अधिकारहरू फिर्तामात्रै गरेनन्, बरू त्यो नागरिक शक्तिले देशको एउटा इतिहास नै उल्टाइसकेको थियो।

करिब २०५ वर्ष राज्यसत्ताको उच्चासनमा बसेको एउटा शाहवंश (राजतन्त्र) कै अन्त्य गरिदिएको थियो र देशको शासन व्यवस्था अब गणतन्त्रात्मक भइसकेको थियो। संविधान सभाको निर्वाचन गराउने गरी गठन भएको अन्तरिम सरकार र संसदसँगै त्योबेला अन्तरिम संविधानको पनि तयारी भइरहेको थियो। राजासहितको संविधान मासिँदै थियो। अन्तरिम संविधान बन्दा नबन्दै त्यसमा आफ्ना अपेक्षाहरू नसमेटिएको भनेर मधेसवादी दलहरू भित्रभित्रै रुष्ट भइरहेका थिए।

तराई मधेसका नागरिक अधिकारका लागि त्योबेला तत्कालीन नेपाल सद्भावना पार्टीले मधेसलाई गोलवद्ध पार्दै थियो। मधेसमा नागरिक अधिकारको वकालत गरिरहेको मधेसी जनअधिकार फोरमले पनि भर्खरै पार्टीको रुप धारण गर्दै थियो।

शुत्रपात त्यही थियो। २०६३ साल पुस १० गते नेपालगन्जमा मधेसी र पहाडे नागरिकबीच सद्भाव खलबलियो। नेपालगन्जको त्यही घटना आखिरमा मधेस आन्दोलनको सुरुवात बन्न पुग्यो। ‘राज्यबाट हेपिएको’ मधेसमा फेरि आगो बल्न थाल्यो। मधेसीहरू आफ्ना अधिकारका लागि फेरि एकपटक सडकमा जुर्मुराए।

आन्दोलनको हर्ताकर्ता उनै इश्तियाक राई थिए, जो २०६२ सालतिरै मधेसी जनअधिकार फोरममा सामेल भइसकेका थिए। त्यतिबेला खलबलिएको नेपालगन्जको सामाजिक सद्भाव सम्हाल्न खोज्दा इश्तियाकले आन्दोलनको कमाण्डरबाट राजीनामा दिनुपर्यो। र त्यो आन्दोलनको नेतृत्व पशुपतिदयाल मिश्रले गरे।

आन्दोलनको नेतृत्व छोडे पनि इश्तियाकले सामाजिक सद्भाव भड्किन नदिन धेरै भूमिका खेले। २०६४ सालमा उनी पार्टीको केन्द्रीय सदस्य भए। अवध क्षेत्रको इन्चार्ज पनि भए। पार्टीमा उनको राजनीतिक उचाई बढ्दै थियो। २०६५ सालमा उनी पार्टीको राजनीतिक समिति सदस्य (पोलिटब्यूरो) भए।

२०७४ सालमा उनी पार्टीका केन्द्रीय सचिव भए। त्यसपछि अरू पार्टीहरूलाई मिसाउँदा मिसाउँदै मधेसी जनअधिकार फोरम अहिले ‘जनता समाजवादी पार्टी नेपाल’ बनिसकेको छ। अहिले पनि उनी पार्टीको पदाधिकारी नै छन्। कार्यकारिणी समितिमा बसेर उनले पार्टीको नेतृत्वलाई डोर्याइरहेका छन्।

गाउँ इकाईदेखि सिंहदरबारसम्म

हरेक राजनीतिज्ञको कठिन र अनिवार्यजस्तै एउटा परीक्षा हो, चुनाव। राजनीतिक यात्राको तय गरेकाे १३ वर्षपछि नै इश्तियाक राईले चुनावी मैदान रोजिसकेका थिए।

राजनीतिक जीवनको सबैभन्दा ठुलो चुनौती र असिमित सम्भावना गाँसेको यो चुनावी सेतु उनले सजिलै तरिदिए। राजनीतिक इतिहासको पहिलो संविधान सभाको चुनावमा उनले बाँके क्षेत्र नं २ बाट चुनाव जिते। बाँकेको राजनीतिक इतिहासमा यो एउटा त्यस्तो निर्वाचन क्षेत्र हो, जहाँ देशका प्रधानमन्त्रीसमेत भइसकेका सुशील कोइरालाले पनि चुनाव हार्नुपरेको थियो। 

२०६४ सालको निर्वाचनमा उनले आफ्नै निकटतम प्रतिद्वन्द्वी दिनेशचन्द्र यादवलाई पराजित गरेर संविधान सभाको सदस्य भए। त्योबेला उनी मात्रै २८ वर्षका थिए। २८ वर्षको एउटा ‘मधेसी’ ठिटो सांसद बनेर पहिलोपटक संविधान सभाको भवनमा छिर्दै थियो।

उनी एउटामात्रै त्यस्तो सांसद हुन्, जसले पहिलोपटक संसद भवनमा अवधी भाषामा सपथ लिएका थिए। आखिर लडेको नै त्यही आफ्नोपनका लागि थियो। पहिचान र अधिकारका लागि थियो। यही अवधिमा उनी श्रम तथा यातायात मन्त्री पनि भएका थिए।

३१ वर्षीय इश्तियाक बहुदलपछि सबैभन्दा कान्छो मन्त्री बन्न पुगे। तर यो संविधान सभाले संविधानको कुनै रूपरेखा नै कोर्न सकेन। बरू तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभा नै विघटन गरेर अर्को चुनाव गराउने जिम्मेवारी प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिदिए। यसरी जनताले निकै उत्साहका साथ गराएको संविधान सभा उमेर नपुग्दै मासियो।

२०७० सालमा फेरि चुनाव भयो। इश्तियाक फेरि चुनाव लडे। २०७० सालमा संविधान सभाको दोस्रो चुनाव भएको थियो। यस पटक भने उनले चुनाव जित्न सकेनन्। त्योबेला चारवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा ३ वटा सिट नेकपा एमालेले जित्यो भने एउटामा नेपाली कांग्रेसका सुशील कोइरालाले चुनाव जिते।

हरेक उम्मेदवार चुनाव जित्नकै लागि लड्छ, तर चुनाव हारेर पनि के भो! एकपटक चुनाव हार्दैमा पूरै राजनीतिक जीवन त सकिन्न नि! चुनावमा पराजित भएपछि इश्तियाक पार्टीमा झन् सक्रिय भए। आफ्नो व्यापार व्यवसाय सम्हाल्ने र फैलाउने समय पनि मिल्यो।

समयले फेरि फन्को लगायो। २०७२ सालमा संविधान बन्यो। र २०७४ मा २० वर्षपछि पहिलोपटक स्थानीय र आम निर्वाचन भयो। यो निर्वाचनमा भने इश्तियाकले फेरि बाजी मारे। उनले बाँके क्षेत्र नं २ मा एमाले र माओवादीको समर्थन पाएका पशुपतिदयाल मिश्र अनि नेपाली कांग्रेसको समर्थन पाएका राप्रपाका ओमप्रकाश आजादलाई पराजित गर्दै सांसद भए।

यो राजनीतिक यात्रासँगै इश्तियाक राई सहरी विकासमन्त्री भए। तत्कालीन नेकपा (एमाले र नेकपा माओवादीको मिलनपछि) सँग मिलेर सरकारमा गएको जसपा त्यहाँ पूरै समय भने रहेन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हर्कत’माथि प्रश्न उठाउँदै सरकार छोडेको जसपाले त्यसपछि नेपाली कांग्रेस र माओवादीहरूसँग गठबन्धन गरेर फेरि शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रवेश गर्यो। र, फेरि इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री भए।

नेपाली राजनीति स्थिर त कहिले पो हुन सक्यो र! मन्त्री पदमा रहँदै चुनावी मैदानमा उत्रिएका राईलगायत पार्टीका केही मन्त्रीहरूलाई चुनावको मुखैमा प्रधानमन्त्री देउवाले बर्खास्त गरिदिए। कारण थियो– गठबन्धन। इश्तियाकको पार्टी जसपाले सत्ता साझेदार दलहरूसँगको साझेदारी तोडिदिएको थियो।

फेरि पनि इश्तियाक बाँके क्षेत्र नं २ को चुनावी मैदानमा एक्लै उत्रिएका छन्। एकातिर माओवादी, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको समर्थनमा नेपाली कांग्रेसका सुदीप नरसिंह राणा र अर्कोतिर एमालेको समर्थन पाएका धवल समशेर राणाको घेराबन्दीबीच चुनावमा होमिएका राई ढुक्क छन्, ‘मैले मत मात्रै होइन, फेरि एकपटक यहाँ विकासको लहर ल्याउन मौका दिनुहोस् भनिरहेको छु। जनतासँगको मेरो गठबन्धनमा मलाई पूरा विश्वास छ।’

र, विकासको यात्रा

दुईपटक सांसद र तीन पटक नै मन्त्री भइसकेका इश्तियाक राईले यो क्षेत्रमा के गरे?

‘मैले के के गरें, त्यो जनताको घरआगँनमै गएर हेरे पुग्छ’ राईको यही एक धर्सो जवाफमा विकासे काम र योजनाको लामो फेहरिस्त छ। राजनीतिका अनेकन अँधेरी खेपेको नेपालगन्ज सहर अहिले रातभरि झलमल्ल बलिरहन्छ। उनकै पहलमा सडकमा बलेका हाइमास्ट लाइटहरूले नेपालगन्ज अझ उज्यालिएको छ।

वर्षौंदेखि थोत्रिएको घरमा कनिकुथि बिरामी स्याहारिरहेको भेरी (सरकारी) अस्पतालले नयाँ र आधुनिक भवन पाएको छ। देशकै यो एउटा पहिलो सरकारी अस्पताल हो, जहाँ हरेक बिरामीले ५० रूपैयाँको टिकट काटेर एसी जोडिएका कोठामा उपचार पाउँदैछन्।

यहाँका कब्रिस्तान होउन वा मसानघाट, सबका सब उज्यालिएका छन्। मन्दिरहरूको सुन्दरता अझ चहकिएको छ। मस्जिदहरूमा रंग फेरिएको छ। चर्च अनि गुम्बाहरूमा पनि इश्तियाकका छाप छन्।

हिलोमा भासिने नेपालगन्जका धेरै सडकहरू अहिले पिच भएका छन्। बाँकी रहेका पनि हुँदैछन्। खोलाले छेकिने गाउँ-सहरहरू पक्की सेतुले जोडिँदैछन्।

यी सब काम हुँदैगर्दा भन्नेहरूले ‘शिलान्यास मन्त्री’ भनेर उनको खिसी पनि नगरेका होइनन् तर धेरैलाई थाहा थिएन र छैन जति विकासे योजनाहरू सुरू भएका छन्, ती सबका लागि बजेटको जोहो उनले गरिसकेका छन्।

‘मैले जनतालाई कहिल्यै ढाँटेको छैन। नसक्ने काम गर्छु भनेर कहिल्यै चुनावका बेला जनतालाई सपना बाँडेको छैन’, राईलाई लाग्छ ‘जाति, समुदाय र धर्म-सम्प्रदायलाई फुटाउने काम गरेको छैन। बरू सकेजति गाँस्दै लगेको छु। र फेरि पनि जनताको शासक होइन, जनताको चौकीदारी गर्नका लागि भोट मागिरहेको छु।’ 

प्रकाशित मिति: : 2022-11-10 13:09:00

प्रतिकृया दिनुहोस्