सिरिन्ज आक्रमणमा फसेका पाठक भन्छन्- म होइन भन्दै थिएँ, भीडमा कुरा सुन्ने कोही थिएन

खगेन्द्र पाठक

कहिलेकाहीँ मान्छे अनाहकमै कानुनी परिबन्धमा फस्छ। यस्तै परिबन्धमा परे, स्याङ्जा वालिङ नगरपालिका-१३ का ३४ वर्षीय शिक्षक खगेन्द्र पाठक।

सोमबार धुलिखेल अस्पतालमा बिरामी आफन्त भेट्न हिँडेका पाठक बीचबाटोमै एक महिलालाई 'सिरिन्ज आक्रमण' गरेको आरोपमा मुछिए।

घटनाको अनुसन्धान नै हुन नपाई बसका यात्रुहरूले उनीमाथि कुटपिट र दुर्व्यवहार गरे। प्रहरीले उनलाई पक्राउ गर्यो।

पाठकले काभ्रे प्रहरीसमक्ष आफूलाई निर्दोष साबित गराउन एक दिन पूरापूर संघर्ष गर्नुपर्‍यो। अन्तत: मंगलबार प्रहरीले उनलाई निर्दोष भन्दै 'सम्मानपूर्वक' छाडेको छ।

कसरी भयो यो घटना? निर्दोष पाठक कसरी मुछिए?

हामीले यस सम्बन्धमा मंगलबार पाठकसँग कुराकानी गर्यौं।

उनी काठमाडौं आएको तीन साता भएको थियो। वालिङ-१३, खानीडाँडाको श्री सरस्वती उच्च माविमा पढाइरहेका पाठक लोकसेवाको प्रारम्भिक सहायक पदका लागि जाँच दिन असार ६ गते काठमाडौं आएका थिए।

सुन्धारामा दाइ नाता पर्नेको गेस्ट हाउस थियो। उनी त्यहीँ बस्थे। अचानक धुलिखेल अस्पतालमा ठूलीआमाका छोराको अपरेसन छ भन्ने खबर पाएपछि सोमबार धुलिखेल हिँडे।

बनेपामा केही समय गाडी रोकियो। यात्रु चढ्ने-ओर्लिने क्रम जारी थियो। उनी बसेको सिटअगाडि एक जना युवती थिइन्। ती युवतीसँगै एक जना महिला पनि थिइन्। उनीहरूबीच केही अगाडिदेखि काठमाडौंमा पछिल्लो समय हल्ला चलेको 'सिरिन्ज आक्रमण' बारे कुराकानी भइरहेको थियो।

‘ती महिला को थिइन् थाहा भएन, न युवतीकै विषयमा मलाई थाहा भयो,’ पाठकले सेतोपाटीसँग भने, ‘अचानक त्यही कुरा चलिरहँदा मलाई युवतीले सिरिन्ज घोचेको आरोप लगाउनुभयो।’

ती युवतीले आफूमाथि ‘सिरिन्ज आक्रमण भयो’ भन्दै पछाडि फर्केर पाठकतिर इसारा गरिन्।

प्रकाशित मिति: : 2019-07-10 09:10:21

प्रतिकृया दिनुहोस्