बहिनीको बिहेपछि अर्को पटक शरदको चौकाले रुवायोः प्रमोद खरेल (क्रिकेट संवाद)

त्रिभुवन विश्वविद्यालय

प्रमोद खरेल जति राम्रो गायक हुन् उति नै राम्रो क्रिकेट प्रशंसक पनि हुन्। उनी क्रिकेटको राम्रो खेलाडी भएर फलोअर्स भएका होइनन्। न त राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको खेलाडी बन्ने सपना नै कहिल्यै बुने। त्यै पनि उनी क्रिकेट भनेपछि मरिहत्ते गर्छन्। अझ नेपाली क्रिकेट र खेलाडीप्रति उनको स्नेह अथाह छ । यतिसम्म कि सामाजिक सञ्जालमा ठट्टा हुँदा उनलाई ‘क्रिकेटमन्त्री’ बनाउनुपर्ने मागसमेत हुने गरेको छ। नेपालखबरले उनै प्रमोदसँग गरेको क्रिकेट सम्वादः

तपाईंलाई जीवनमा पहिलोपटक ब्याट–बल समाएको क्षण याद छ ?
सानोमै हो। ठ्याक्कै यति उमेरको हुँदा पहिलो पटक समाएँ भन्ने चाहिँ याद भएन। सानोमा लुगा धुन बनाइएको काठको मुङ्ग्रोलाई ब्याट बनाएर खेल्थ्यौँ। बल भने रबरको उफ्रिने वा प्लास्टिकको हुन्थ्यो।

पक्ष–विपक्ष नै भएर कहिले खेल्नुभयो ?
मैले प्लस टू पाटन क्याम्पस, ब्याचलर त्रिचन्द्र क्याम्पसमा र मास्टर्स त्रिभुवन विश्वविद्यालयमा पढेँ। प्लस टू पढ्दा सामान्य मात्र खेलियो। त्यसपछि मास्टर्स पढ्दासम्म धेरै नै खेलेँ भनौँ। कीर्तिपुरमा बस्दा त खेल्न मात्र होइन, खेल हेर्नमा पनि उत्तिकै चासो हुन्थ्यो। सायद संगतको प्रभाव पनि होला।

विद्यालय तहमा खासै खेलिएन। कलेज पढ्न काठमाडौं आएपछि २०५८–५९ सालतिर हो खेल्न थालेको। म मीनभवनमा बस्थेँ। बस्ती बाक्लो थिएन, खोलाको छेउँमा थुप्रै मैदानहरु थिए। राष्ट्रिय खेलाडीहरु पनि खेल्न आउँथे। त्यतिबेला मज्जैले खेलिन्थ्यो । कहिलेकाहीँ पारस खड्कालाई पनि खेल्न आएको देख्थेँ तर म राम्रो खेलाडी भने थिइन ।

तपाईंलाई बलिङ, ब्याटिङ र फिल्डिमध्ये केमा बढी रुचि छ?
ब्याटिङ नै रुचाउँछु तर म खेलिरहेको भए बलिङ नै बढी गर्थेँजस्तो लाग्छ। मेरो बल राम्रो स्वीम हुन्थ्यो। एकपटक हातको नशा सड्किएपछि बलिङ गर्न छाडिदिएँ। ब्याटिङ गर्दा पनि एकपटक बलले नाकमा मज्जैले लागेको छ। त्यसपछि मलाई साइनेक्स भएको हो कि जस्तो लाग्छ।

जीवनमा तपाईंले खेलेको यादगार पारी कुन हो ?
त्यस्तो पारी नै याद हुनेगरी खेल्नलाई म राम्रो खेलाडी थिइनँ। रमाइलोका लागि मात्र खेल्थेँ। एकपटक एक जनाले मेरो बलिङमा लगातार ३ चौका र १ छक्का हाने। उसलाई अर्को बलमा बोल्ड गरिदिएँ। त्यतिबेला जति जीवनमा क्रिकेट खेल्दा अर्कोपटक कहिल्यै आनन्द आएन। रन भने त्यही २०–२५ बनाएँ हुँला बढीमा। म क्रिकेटको झुर खेलाडी र राम्रो प्रशंसक हुँ। राम्रो खेलाडी भएको भए म क्रिकेटमै आउँथेँ होला।

तपाईं राजु खड्काको पाला (दुई दशकअघि) देखि नै क्रिकेटलाई फलो गर्ने मान्छे । कस्तो थियो त्यतिबेला नेपाली क्रिकेटको अवस्था?
नेपालमा क्रिकेट हेर्न थालेको धेरै भएको छैन। क्रिकेटको इतिहास लामो भए तापनि यसमा लहर आएको एक दशक भयो होला। म राजु खड्काले क्रिकेट खेल्दादेखि नै फलो गर्थेँ। टिभी र मोबाइलको चार्ज त्यति थिएन । रेडियोमा क्रिकेटको समाचार सुन्थेँ धेरै मानिसहरु क्रिकेट बुझ्दैनथे। नेपालले टी–२० विश्वकप खेल्यो, नेपाली खेलाडीले आइपिएल खेल्यो भन्नेजस्ता समाचार आएपछि अलि बढी फलो गर्न थालेका छन्। फेरि क्रिकेट फुटबलजस्तो गोल हानेर जित्ने खेलभन्दा पनि टेक्निकल खेल हो। नेपालमा अहिले पनि क्रिकेट चर्चित भए पनि फुटबलका फलोअर्स धेरै छन्।

प्रकाशित मिति: : 2019-07-09 17:33:11

प्रतिकृया दिनुहोस्