नेपाली कामदार लैजान नपाएपछि बंगलादेशबाट कामदार लिने अन्तिम तयारीमा मलेसिया

नागरिक

काठमाडौं– पहिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ। आगामी अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने  मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपालबाट १३ महिनासम्म कामदार लैजान नपाएपछि मलेसियाका विदेशमन्त्री साइफुद्दीन अब्दुलाह बन्द रहेको बंगलादेशबाट कामदार लिने विषयमा छलफल गर्न बंगलादेश आइपुगेका छन्।

मलेसियालि विदेशमन्त्री साइफुद्दीनले बंगलादेशी कामदारका लागि गतवर्ष डिसेम्बरदेखि बन्द रहेको मलेसियाको ढोका अगष्ट महिना भित्रै खुल्ने आशा व्यक्त गरेकोको भनाइ उदृतगर्दै बंगलादेशका संचार माध्यमले भनेका छन्- 'विदेशी कामदार आपूर्ति गर्ने विषयमा प्रधनमन्त्री महाथिरले नै एउटा प्रक्रियाको नेतृत्व गरिरहनु भएको छ। मलाई लाग्छ त्यहि नेतृत्वले कामदार आपूर्तिको विषयमा भविष्यमा थप निर्णय गर्नेछ। बंगलादेशकालागि एउटा नयाँ अवसर खुल्दैछ।'

बंगलादेशले आफ्नो देशबाट कामदार लिन उच्च राजनीतिक स्तरबाटै पटक-पटक आग्रह गरे पनि मलेसियाले भने बंगलादेशबाट कामदार लिन इच्छा देखाएको थिएन। तर मलेसियाली कम्पनीमा कामदारको चरम अभाव हुँदा समेत नेपालले कामदार नपठाएपछि मलेसिया नेपालको विकल्प खोज्न अघिसरेको हो।

प्रकाशित मिति: : 2019-07-09 15:57:14

प्रतिकृया दिनुहोस्