तीन करोडको योजना, डेढ करोड घोटाला

सुमन मल्ल

मुगु– जिल्लाभित्र सञ्चालित एक सडक मर्मत योजनामा डेढ करोड बढि घोटाला भएको पाइएको छ। गमगढी–नाग्म सडक खण्ड छायानाथ रारा नगरपालिका–८ झ्यारी खोलादेखि गमगढी शुन्य विन्दुसम्मको सडक मर्मतका लागि आर्थिक वर्ष २०७४/२०७५ मा सडक डिभिजन कार्यालय जुम्लामा ३ करोड २३ लाख ९ हजारमा सम्झौंता गरेको रकममा डेढ करोड रुपैयाँ घोटला भएको हो।

छायानाथ रारा नगरपालिका–४ का हृदयसिंह नेपालीसँग १ करोड ६१ लाख ७६ हजार ३ सय ४६ रुपैयाँमा योजना सम्पन्न गर्ने गरि करार सम्झौता गरे पनि नेपालीले भुक्तानी नपाएको भन्दै जिल्ला अदालतमा मुद्दा दायरपछि डेढ करोड बढि घोटाला भएको तथ्य सार्वजनिक भएको थियो।

हृदयसिंह नेपालीसँग गरिएको करार सम्झौतामा उल्लेख गरिएको रकम भन्दा सडक डिभिजन कार्यालयबाट भुक्तानी लिएको दोब्बर छ तर काम भने गुण स्तर हिन छ। गएको वर्ष मर्मत गरिएको सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्ने गरेको छ। यता तिर काम गर्ने मजदुरले रकम पाएका छैनन भने सडकको अबस्था पनि राम्रो छैन। कामको जिम्मा लिएको धोधुंगा कन्ट्रक्सन प्रा.लिविरुद्ध मुद्दा परेपछि यहि असार १० गते जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल ईजालसले हृदयसिंह नेपालीका पक्षमा फैसला गर्दै निर्माण कम्पनिका सञ्चालक कार्मानोर्बेल तामाङ्गलाई पाँच लाख जरिवाना तोकेको हो।

प्रकाशित मिति: : 2019-07-08 15:13:41

प्रतिकृया दिनुहोस्