'विनास काले विपरित बुद्धि!': प्रधानमन्त्रीका 'अरिंगाल'हरु नै एकापसमा भिड्दै

गत फागुन २५ गते प्रधानमन्त्री केपी शर्मा ओली रौतहट पुगेर बोक्सी हुँदैन भन्दै उद्घोष गरे। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को २ नं प्रदेश स्तरीय सभामा बोल्दै उनले भनेका थिए, 'बोक्सी हुँदैन। हुन्थ्यो भने चुनावमा टोकेर विरोधीलाई सकाउँथे। संसारमा बोक्सी भए सबैभन्दा पहिले मलाई आएर खाओस्।'

तराइमा व्याप्त बोक्सी प्रथालाई सामाजिक कुरितीको रुपमा चित्रण गरेका उनै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आज बिहानै एउटा ट्विट गरे, ‘छौँडा’हरु भन्दै।

उनले सामाजिक सञ्जाल ट्विटरमा कवितांश बनाउँदै लेखेका छन्,

'भनिन्छ, छौंडाहरू

आफैं चलमलाउँदैनन्

कसैले छोड्छन्,

दु:ख दिन्छन्!

यी छौंडाहरू

आफैं चलमलाएका हुन् की

कसैले छोडेका?' 

सामाजिक सञ्जालमा उनले भनेको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जाल तातेको छ। पछिल्लो समय सरकार र प्रधानमन्त्री विरुद्ध सत्तारुढ दलकै नेताहरुले आवाज उठाइरहेका बेला प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नै विरोधीहरुलाई 'छौँडा'को रुपमा चित्रण गरेका छन्।

उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा रिमालको राजिनामा समेत माग्न थालिएको छ। धर्म संस्कृति भित्रका कुरिती तथा अन्धविस्वासहरुका घोर विरोधीका रुपमा चिनिँदै आएका कम्युनिस्ट नेता तथा कम्युनिस्ट प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नै 'छौँडा' शब्दको प्रयोग गरेको प्रति टिप्पणी भइरहेको छ।

प्रकाशित मिति: : 2019-07-08 09:30:22

प्रतिकृया दिनुहोस्