कारागारको नयाँ भवनले महानगरको ढल थुन्योे

शनिबारको वर्षाको पानीले ढलबाट निकास नपाएपछि महानगरपालिका कार्यालय रहेको भवन र चाइनाटाउनको भुइँतला डुबानमा

काठमाडौं - केन्द्रीय कारागारले अनधिकृत ढंगले संरचना निर्माण गरेपछि बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालय भवनको ढल थुनिएको छ। कारागारले महानगरपालिका र सम्बन्धित वडासगँ स्वीकृति नलिई महिला व्यारेक संरचना निर्माण गरेपछि ढल थुनिएको हो। शनिबारको वर्षाको पानीले ढलबाट निकास नपाएपछि महानगरपालिका कार्यालय रहेको भवन र चाइनाटाउनको भुइँतला डुबानमा परेको छ। डुबानले आसपासको क्षेत्रसमेत दुर्गन्धित बनेको छ।

महानगरपालिका कार्यालयको पार्किङअघि पाचभन्दा बढी ठाउँमा ढल थुनिएर नाला फुटेको छ। कार्यालय भवनको भुइँतला जलमग्न भएपछि बत्तीको लाइन पास हुन नसक्दा रिपब्लिक मिडियालगायत कम्पनी र कार्यालयको काममा अवरोध भएको छ। पार्किङका रुपमा पनि प्रयोग हुँदै आएको भुइँतला डुबानमा परेपछि गाडी राख्न पनि समस्या भएको छ। डुबानले दुर्गन्ध बढेपछि भएपछि विभिन्न कार्यालय÷कम्पनीका कर्मचारी, चाइना टाउनका व्यापारी तथा सोवाग्राही नाकमुख थुनेर काम गर्न÷सेवा लिन बाध्य छन्।

आफ्नै कार्यालय रहेको भवन वर्षासँगै पटकपटक डुबानमा पर्दा पनि महानगरपालिकाले समस्याको दीर्घकालीन व्यवस्थापन गर्न सकेको छैन। ढल प्रभावित क्षेत्र ११ नम्बर वडाअन्तर्गत पर्छ।

महानगरपालिका र वडा कार्यालयले आइतबार जेटमेसिन लगाएर थुनिएको पानी र ढललाई निकास दिने प्रयास गरे। लामो प्रयास गर्दा पनि ढल पास हुन सकेन। काठमाडौं महानगरपालिका वडा ११ का अध्यक्ष हिरालाल तन्डुकारले कारागार प्रशासनले महानगरपालिका र वडासँग स्वीकृति नलिई सार्वजनिक जग्गामा भवन बनाएपछि ढल थुनिएर समस्या उत्पन्न भएको बताए। ‘कारागारले वडा र महानगरपालिकासगँ कुनै स्वीकृति नलिई भवन बनाएको छ,’ उनले भने, ‘यसरी ढल भएको सार्वजनिक जग्गामा संरचना बनाउन पाइँदैन। सार्वजनिक जग्गामा नक्सा पास नगरी नयाँ भवन बनाइएको छ। यसले गर्दा पटकपटक ढल थुनिएको छ। भवन बनाउँदा ढल पनि हेर्नु पर्छ नि।’

प्रकाशित मिति: : 2019-07-08 07:27:38

प्रतिकृया दिनुहोस्