कीर्तिपुरमा मात्र त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

तस्बिरः नयाँ पत्रिका
  •  संसारभरि विश्वविद्यालय परिसरभित्र हतियारधारी सुरक्षाकर्मीको प्रवेशसमेत निषेध हुन्छ, तर नेपालको मुख्य विश्वविद्यालयभित्रै सरकारले दुई–दुई प्रहरीचौकी खोलेको छ
  •  त्रिवि परिसरमा बालबालिकाबाट चर्को शुल्क उठाउने स्कुल मात्र होइन, पेट्रोल पम्प पनि सञ्चालनमा छन्, तर विश्वविद्यालयकै कतिपय विभाग जग्गा नपाएर बाहिरै सञ्चालित छन्

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको बल्खुदेखि कीर्तिपुरसम्मको जग्गामा निजीदेखि धार्मिक संस्थासम्मले रजाइँ गरेका छन् । त्रिविको जग्गामा रजाइँ गर्ने यस्ता संस्था २० वटा छन् । कतिपय संस्थाको रेकर्ड त्रिविको सम्पत्ति विवरण राख्ने शाखामा समेत छैन । कुनैले केन्द्रीय सरकारको सिफारिस लिएर त कुनैले आफैँ हडपेर बसेका हुन् । त्रिविको जग्गा ओगट्नेमा कतिपय नाफामूलक संस्था पनि छन् । त्रिविका पदाधिकारीबाटै उनीहरूलाई संरक्षण मिलेको छ । केहीलाई हटाउने प्रयास भए पनि राजनीतिक संरक्षणमा जोगिएका छन् । कीर्तिपुर परिसरमा त्रिविसँग तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा छ । तर, एकतिहाइ जग्गा व्यक्ति र संस्थाले उपभोग गरिरहेका छन् । जब कि, त्रिविका केन्द्रीय विभागहरूले समेत आवश्यकताअनुसार जग्गा पाउन सकेका छैनन् । 

जग्गा कब्जा गर्ने ल्याबोरेटोरी स्कुलको ‘एडभाइजरी बोर्ड’मा त्रिविकै प्राध्यापक
शिक्षाशास्त्र संकाय अध्ययन गर्ने विद्यार्थीलाई शिक्षण अभ्यास गराउने उद्देश्यले ल्याबोरेटोरी स्कुल स्थापना भएको थियो । १३ साउन ०५७ मा शिक्षा तथा खेलकुद मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाजबीच १५ वर्षे सम्झौता भएअनुसार त्रिविले जग्गा उपलब्ध गराएको थियो । तर, अहिले ल्याबोरेटोरी त्रिविका विद्यार्थीलाई शिक्षण अभ्यास गराउने थलो नभई, केही व्यक्तिले माध्यमिक तहसम्म पढाइ हुने स्कुलका रूपमा सञ्चालन गरिरहेका छन् । सम्झौता अवधि १२ साउन ०७२ मा सकिएपछि पटक–पटक ताकेता गर्दा पनि स्कुलले जग्गा छाड्न मानेको छैन । 

जग्गा फिर्ता गर्न पटक–पटक पहल गरे पनि ल्याबोरेटोरी स्कुल व्यवस्थापनले अटेरी गरेको त्रिवि पदाधिकारीको गुनासो छ । राजनीतिक दलका नेता तथा केही स्थानीय नेताको आडमा जग्गा फिर्ता नभएको हो । स्रोतका अनुसार केही समयअघि जग्गा फिर्ता विषयमा छलफल गर्न गएका त्रिविका कर्मचारीमाथि नै आक्रमणको प्रयास भएको थियो । त्रिवि कर्मचारीका अनुसार दुई महिनाअघि छलफलका लागि पत्र पठाएकोमा त्यसको जवाफसमेत आएको छैन । अहिले सो स्कुल गुठीका रूपमा सञ्चालनमा छ । सो संस्थाको व्यवस्थापन समितिमा उमेश श्रेष्ठलगायत व्यक्ति छन् । 

त्रिविका प्राध्यापक स्कुलको सल्लाहकार बोर्डमा छन् । फिजिक्स केन्द्रीय विभाग प्रमुख प्रा.डा. लोकनारायण झा, जुलोजी प्रमुख प्रा.डा. वसन्तकुमार थापा, बोटनी प्रमुख प्रा.डा. सानुदेव जोशी, व्यवस्थापनका प्रमुख प्रा.डा. सन्तोषराज पौड्याल एडभाइजरी बोर्डमा रहेको स्कुलको वेबसाइटमै उल्लेख छ ।

प्रकाशित मिति: : 2019-07-08 07:24:51

प्रतिकृया दिनुहोस्