यस्तो छ ‘छौंडा’ शब्दको नाकाबन्दी ‘कनेक्सन

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहान गरेको एउटा ट्विटले यतिबेला सामाजिक सञ्जाल तरंगित छ। उनले त्यहाँ प्रयोग गरेको भाषाशैलीलाई लिएर धेरैले विरोध जनाइरहेका छन्।

रिमालले लेखेका छन्, ‘भनिन्छ, छौंडाहरु आफैँ चलमलाउँदैनन्। कसैले छोड्छन्, दुःख दिन्छन्। यी छौंडाहरु आफै चलमलाएका हुन् कि कसैले छोडेका हुन्?’

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारले प्रयोग गरेको भाषाशैलीप्रति आलोचना गर्नेहरुले भद्र ढंगले जवाफ दिइरहेका छन्।

यो अभिव्यक्तिको नेकपाकै कार्यकर्ताले समेत आलोचना गरेका छन्। नेकपा कार्यकर्ता घनश्याम गौतमले लेखेका छन्, ‘यति धेरै कुन्ठा बोकेर त्यो गरिमामय पदमा नबसेको भए राम्रो हुन्थ्यो कमरेड।’

नुवाकोटकी नेकपा जिल्ला सदस्य उषाकिरण तिम्सिनाले पनि त्यस्तै सल्लाह दिएकी छिन्। ‘कमरेड तपाईं पार्टीको स्थायी कमिटी सदस्य र प्रधानमन्त्रीको सल्लाहकार दुवै पदबाट राजीनामा दिनोस्। यो चेतनास्तरले दुवै पदलाई न्याय गर्न सक्दैन।’

नेकपा केन्द्रीय सदस्य डा.विजय पौडेलले पनि यो अभिव्यक्ति शैली ठिक नभएको उल्लेख गरेका छन्।

‘विष्णु सर यो अमुर्त कविता कसका लागि हो? के यो तपाईंकै ह्यान्डल हो? हो भने यस्तो नलेख्नोस्। गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम न’, उनले भनेका छन्, ‘यस्तो रिस लागेजस्तो नदेखाम भन्ने अनुरोध गर्दछु।’

कसैप्रति लक्षित गरी लेखेको होइन: विष्णु रिमाल

नेकपा वृत्तबाटै यतिधेरै विरोध भएको यो विषयमा अरुले विरोध नगर्ने कुरै भएन। ट्विटमा उल्लिखित ‘छौंडाहरु’ शब्दावलीका कारण यसको विशेष विरोध भइरहेको हो।

शब्दगत रूपमा ‘छौंडा’ले नकारात्म नै अर्थ दिन्छ। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित वृहत् शब्दकोषमा यसका ४ अर्थ रहेका छन्। पहिलोः बालक, शिशु, बच्चो, दोस्रोः छोरो, तेस्रोः दास पुत्र।

चौथो अर्थ हो लोकधारणअनुसार बोक्सी विद्या सिकेकी आइमाइले मानिसलाई पिराउन घर घर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो।

प्रकाशित मिति: : 2019-07-07 17:29:55

प्रतिकृया दिनुहोस्