‘बादशाह’का हत्या शृंखला

तस्बिरः अन्नपूर्ण पोष्ट

काठमाडौं : आठ व्यक्तिको हत्या, अपहरण र डकैतीमा अदालतबाट १ सय १७ वर्षको जेल सजाय पाएर फरार रहँदै आएका कपिलवस्तु मायादेवी गाउँपालिकाका नसिम खाँ मुसलमान शनिबार पक्राउ परेका छन्।

नेकपाका संगठित सदस्य जाबेद बादशाह उपनामका मुसलमान राजनीतिकै आडमा जोगिँदै आएका थिए। कपिलवस्तुमा व्यक्ति हत्यासहित लुटपाट र अपहरणका घटनाका अपराधीका रूपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो। उनी राजधानीको बानेश्वरबाट पक्राउ परेका हुन्। उनलाई शनिबार नै कपिलवस्तु प्रहरीको जिम्मा लगाइएको छ।

मुसलमान नेपालमा अपराध गरी भारतको अलिगढवा बस्दै आएका थिए। उनलाई पक्राउ गर्न भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायले पहल गरेका थिए। तर, त्यतिबेला उनी राजनीतिक आवरणमा जोगिएका थिए।

उनीमाथि सातवटा कर्तव्य ज्यान, एउटा डाँका र एउटा अपहरणपछि हत्या मुद्दा दर्ता रहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशमशेर जबराले बताए। ‘महिना दिनदेखि खोजी गरिरहेका थियौं’, उनले भने, ‘काठमाडौंमा रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो।’

प्रहरी अभिलेखमा २०६३ देखि ०७४ को बीचमा उनको संलग्नतामा आठ जनाको हत्या भएको छ। २०६३ जेठ १९ मा कपिलवस्तु फुलिकाका धर्मराज बराईको छोरालाई हतियार प्रहार गरी हत्या गरेको आरोप उनीमाथि छ। प्रहरीले मिसिल तयार गरी ०६३ साउन १४ मा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो।

मुसलमानमाथि ०६४ वैशाख १७ मा कपिलवस्तुमै सन्दीपकुमार गुप्ताको महिन्द्रा जिप रोकेर बन्दुक देखाई २ लाख लुटेको आरोप छ। २०६४ चैत २५ मा जिल्ला अदालतमा पेस भएको मिसिल सर्वोच्चमा पुगेको छ।

कपिलवस्तु मोतीपुर बस्ने भुवन भन्ने प्रेम परियारलाई गोली हानी हत्या गरेको आरोप पनि उनीमाथि छ। कपिलवस्तु प्रहरीले ०६५ पुस १ गते कर्तव्य ज्यान मुद्दा अदालतमा पेस गरेको थियो। उक्त मुद्दा उच्च अदालतमा विचाराधीन छ।

२०६५ भदौ ३० मा कपिलवस्तुकै नसिबुल्लाह मुसलमानलाई हानेको गोली लागेर अकला कोहारको मृत्यु भएको घटनामा पनि उनको संलग्नता रहेको दाबी प्रहरीको छ। कोहारका पति पारसनाथले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए। सरकारी वकिल कार्यालयमार्फत प्रहरीले मुद्दा जिल्ला अदालतमा बुझाएको थियो। मुद्दा उच्च अदालतमा विचाराधीन छ।

प्रकाशित मिति: : 2019-07-07 08:14:29

प्रतिकृया दिनुहोस्