नेपालको लगानीमा बनेकाे झोलुंगे पुल भारतले सञ्चालन हुन दिएन

तस्बिरः नयाँ पत्रिका

नेपाल भारत सीमा नदीमाथि बनेको पुल सञ्चालनमा आउन नसक्दा दार्चुलाको लाली क्षेत्रका स्थानीय जोखिम मोलेरै ट्युब तर्न बाध्य छन् । निर्माण सम्पन्न पुल सञ्चालनमा नआउँदा लाली क्षेत्रका स्थानीय मात्रै नभएर, लेक गाउँपालिका ६ वडा र मालिकार्जुन गाउँपालिकाका तीन वडाका २१ बस्तीका स्थानीयसमेत प्रभावित भएका छन् ।

महाकाली नदी किनारमा रहेको लाली क्षेत्रबाट जौलजीवीसम्मको दूरी १० किलोमिटर छ । सडक पहुँच नभएकाले हिँडेरै जौलजीवीसम्म पुग्नुभन्दा ट्युब तरेरै सहजै भारतीय बजारसम्म पुगिने र दैनिक उपभोग्य समानका साथै अन्य आवश्यक वस्तु ल्याउन सकिने हुँदा जोखिम मोलेरै ट्युब तर्ने गरेको स्थानीय शेरबहादुर विष्ट बताउँछन् ।

लाली क्षेत्रका नागरिक मात्रै नभएर सो क्षेत्रका बस्तीका नागरिक ट्युब तरेरै भारतीय बजार क्षेत्र र जिल्ला सदरमुकाम पुग्ने गर्दछन् । दुई–तीन घन्टा हिँड्नुभन्दा त ट्युब तरेरै पारी जान सजिलो लाग्छ, पहिलेदेखि नै ट्युबमा ओहोर–दोहोर गर्ने भएकाले स्थानीयलाई डर पनि नहुने ट्युब सञ्चालक जमनसिंह ऐरीले बताए । ‘नेपालतिर सडक नै नबनेको, तर भारततिर सडकका साथै सहजै यातायातका साधन पनि पाइने हुँदा बिरामी, गर्भवती, वृद्धवृद्धा र बालबालिकासमेत ट्युबमार्फत तर्नुपर्ने बाध्यता छ,’ सात वर्षदेखि ट्युब चलाउँदै आएका प्रेमराम पार्की भन्छन् ।

स्थानीय आक्रोशित 
सीमा नदीमाथि पुल गत २ पुसमै निर्माण पूरा भएको हो । तर, सात महिनासम्म सञ्चालन हुन नसक्दा स्थानीय नेपाल–भारतका सरकारी अधिकारीसँग आक्रोशित छन् । पुल सञ्चालनमा आउन सके सीमा क्षेत्र र यो क्षेत्र भएर आवत–जावत गर्ने दुई गाउँपालिकाका २१ बस्तीका नागरिक लाभान्वित हुनेछन् । 

भारततर्फको बाटो पनि नेपालकै लगानीमा

तुइन विस्थापित गर्ने कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न गरिएको लेकम गाउँपालिकालको लाली र भारत पिथौरागढको डोडा जोड्ने पुल निर्माणका लागि नेपाल सरकारले एक करोड ३२ लाख विनियोजन गरेको थियो । 

प्रकाशित मिति: : 2019-07-07 08:12:23

प्रतिकृया दिनुहोस्