तरकारीको विषादी जाँच नगर्न भारतीय दबाब, के गर्दैछ नेपाल ?

भारतबाट नेपाल भित्रिने  तरकारी तथा फलफूलको विषादी परीक्षण हुन थालेपछि भारतीय पक्षले असन्तुष्ट जनाएको छ । भारतीय दूतावासले औपचारिक रूपमै नेपालको सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न पत्रमार्फत अनुरोध गरेको छ । दूतावासले आफूहरुले सरकारी अधिकारीलाई पत्र पठाएको जनाएको छ । तर यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराई भने हालसम्म त्यस्तो आधिकारिक पत्र मन्त्रालयसम्म नआइपुगेको बताउँछन् । यद्यपि, विभिन्न सञ्चार माध्यममा आएको समाचारलाई आधार बनाएर मन्त्रालयभित्र विषादी परीक्षणको विषयमा छलफल भने हुन थालेको भट्टराईले जनाए । उनले भने, ‘हामीले पत्र प्राप्त नगरे पनि यस विषयमा छलफल गरेका छौँ । कृषि र अर्थमन्त्रालयसँग के गर्ने भन्नेबारे छलफल भइरहेको छ । पत्र परराष्ट्र मन्त्रालय हुँदै यहाँ आइपुग्न समय लाग्ने भएकाले होला तर पत्र चाहिँ आइपुगेको मेरो जानकारीमा छैन ।’ सरकारले असारको २ गतेदेखि भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण सुरु गरेको हो  । गत जेठ १० गतेको मन्त्रिपरिषद्ले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । विषादी जाँच सुरु भएयता भन्सार नाकामा मालसामानका कन्टेनरहरु चेक जाँचका लागि लाइनमा छन् ।

सीमा नाकामा पर्याप्त जनशक्ति नभएकाले तरकारी तथा फलफूल जाँच गर्न समय लाग्ने र यसले फलफूल कुहिने तथा नेपालबाट जाने तरकारीमा भारतले नियमित चेकजाँज गर्दैन भने नेपालले किन गर्ने भन्ने जस्ता विषयमा भारतको मुख्य आपत्ति रहेको दूतावास स्रोतले जनाएको छ ।

यस विषयमा अर्थमन्त्रालयले पनि चासो दिएको अर्थसचिव राजन खनालले एक कार्यक्रमममा भनेका थिए । उनले चाँडै यो विषयमा सम्बोधन हुने आश्वासन पनि दिएका थिए । तर सम्बन्धित मन्त्रालय भने यस विषयमा छलफल मात्र भइरहेको र कुनै निर्णयमा नपुगेको बताउँछन् ।

प्रकाशित मिति: : 2019-07-05 16:24:13

प्रतिकृया दिनुहोस्