प्रचण्डका घरबेटीलाई काम नगरेको भन्दै कारबाही, तिराइयो १० प्रतिशत जरिवाना

ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शरदाप्रसाद अधिकारीको कम्पनीमाथि कार्वाही भएको छ। नगरकोट जाने सडक समयमा नै निर्माण पूरा गर्न नसकेको भन्दै कार्वाही स्वरुप जरिवाना लगाइएको हो।

सडक विभागले भक्तपुरबाट नगरकोट जाने सडक समयमा निर्माण नगरेको भन्दै शैलुङ कन्स्ट्रक्सनलाई जरिवाना तिराउने तय भएको थियो। शैलुङ कन्स्ट्रक्सनका संचालक शारदा अधिकारीलाई ठेक्का रकमको १० प्रतिशत जरिवाना गराइएको हो।

सडक विभागले तीन पटक म्याद थप्दा पनि काम नगरेको भन्दै ठेक्का सम्झौता अनुसार जरीवाना तिराएको हो।

शैलुङ ‘क’ वर्गको कम्पनी हो। सम्झौताअनुसार दुई वर्षमा सक्नुपर्नेमा काम चार वर्ष वितिसक्दा ५० प्रतिशत भन्दा माथि काम भएको छैन। सडक नबन्दा पर्यटकीय गन्तब्य नगरकोट समेत प्रभावित बनेको छ। पाँच वर्ष बितिसक्दा पनि सडक विस्तार, स्तरोन्नती र कालोपत्रे गर्ने काम अलपत्र छ।

प्रचण्डसँग उठबस भएकै कारण उनलाई म्याद थपको उपहार प्राप्त भइरहेको थियो। तर अहिले भने विभागले जरीवाना गराएको हो। लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेका कारण स्थानीय धुलो र हिलोको सास्ती खेप्न बाध्य छन्। करिव ३० करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको सडकको १४ करोड रुपैयाँ भुक्तानी कम्पनीले लिइसकेको छ।

कम्पनीले सुरुमा २७ करोड रुपैयाँमा सम्झौता गरेको थियो। मुल्यवृद्धि भएको भन्दै लागत ३० करोड रुपैयाँ पुर्‍याइएको हो। ४७ करोड लागत अनुमान गरिएको भए पनि उनले घटेर ठेक्का हालेका थिए। कम मूल्यमा ठेक्का हालेको कारण काममा ढिलासुस्ती गर्दै आएको अनुमान गरिएको छ। पछिल्लो पटक म्याद थप भए अनुसार जेठमै काम सक्नुपर्थ्यो।

जेठमा आयोजनाको आधा पनि काम गर्न नसकेपछि निर्माण कम्पनीले आयोजनासमक्ष म्याद थप गर्नका लागि प्रस्ताव गरेको थियो। तर, म्याद थप गर्नका लागि स्पष्ट आधार नभएको भन्दै जेठदेखि म्याद नै थपिएको छैन्। त्यसपछि विभागले नियम अनुसार निर्माण कम्पनीलाई हर्जना तिराएको हो। सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जरिवाना तिराउँदा पनि काम नभए ठेक्का तोड्ने प्रकृयामा लैजाने बताए।

प्रकाशित मिति: : 2019-07-05 10:20:26

प्रतिकृया दिनुहोस्