कमलपोखरी पुनर्निर्माणको ठेक्का हात पार्न अनुमानित रकमभन्दा तीन करोड कम मूल्य कबुल

तस्बिरः बाह्रखरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माणका लागि लागत अनुमानित लागत रकमभन्दा तीन करोड रुपैयाँ कममा नै निर्माण कम्पनीले पुनर्निर्माणका लागि ठेक्का लिएको छ  । महानगरपालिकाले पोखरी पुनर्निर्माणको लागत अनुमानित नौ करोड ४७ लाख रुपैयाँ गरेको थियो । तर ठेकेदारले कबुल गरेको रकम ६ करोड ३६ लाख ६० हजार रुपैयाँ रहेको छ ।

“कम्पनीले ठेक्का हात पार्नका लागि कम्पनीले तीन करोड कम मूल्यमा काम गर्न सकिने भनेको छ । तर काम गर्दै जाँदा विभिन्न बहाना देखाएर कम्पनीले थप रकम माग्न प्रष्ट देखिन्छ,” भौतिक तथा पूर्वाधार विभागका एक इन्जिनियरले बाह्रखरीसँग भने, “रानीपोखरीमा अहिले भइरहेको पुनर्निर्माणको लागत नै नौ करोड छ । तर रानीपोखरीभन्दा कमलपोखरीमा धेरै काम गर्नुपर्ने छ । अहिले सस्तोमा काम गर्छु भन्दैमा ठेक्का दिँदा केही महिनामै निर्माण कम्पनीले बहाना देखाएर थप रकम माग्ने प्रष्ट छ ।”

महानगरपालिकाको सहरी विकास आयोगले पोखरी पुनर्निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर र सम्पन्न मितिमा कम्पनीसमक्ष आफ्नो स्पष्ट धारणा राखेको बताएको छ । “ठेक्का लगाउँदा सबैभन्दा सस्तो रकम कबुल गर्ने कम्पनीलाई ठेक्का दिनुपर्ने बाध्यता छ,” उपध्यक्ष बस्नेतले भने, “काम गर्दै जाँदा कुनै कम्पोनेन्ट नै चेन्ज गर्नुपर्ने अवस्था आएमा ठेक्का रकम बढ्न पनि सक्छ ।”

प्रकाशित मिति: : 2019-07-04 17:51:57

प्रतिकृया दिनुहोस्