बढ्यो भिसा शुल्क : साउन १ देखि कार्यान्वयन

फाइल तस्बिर

काठमाडौं :  सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा (भिसा) शुल्क बढाएको छ। बढेको शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तित भिसा शुल्क लागू गर्न लागेको हो। अध्यागमन विभागले नयाँ भिसा शुल्क कार्यान्वयन गर्ने तयारी गरेको छ।

गृहले पछिल्लोपटक २०६५ साउन १ गतेदेखि नयाँ भिसा शुल्क कार्यान्वयनमा ल्याएको थियो। झन्डै १० वर्षपछि नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भिसा शुल्क बढाउने निर्णय गरेको हो।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले परिवर्तित भिसा शुल्क साउन १ देखि कार्यान्वयनमा आउने बताए। महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘भिसा शुल्क समयसापेक्ष पारिएको छ। अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गरेर भिसा शुल्क बढाउने निर्णयमा पुगेका हौं।’

गृह मन्त्रालयले पर्यटकीय भिसाअन्तर्गत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डलर पुर्‍याएको छ। यसअघि १५ दिनको बहुप्रवेशी भिसा शुल्क २५ डलर तिर्नुपथ्र्यो। त्यस्तै ३० दिनको बहुप्रवेशी भिसा शुल्कमा १० डलर बढाएर ५० अमेरिकी डलर पुर्‍याएको छ। पर्यटकले यसअघि ३० दिनको बहुप्रवेशी भिसाको ४० डलर तिर्दै आएका थिए। गृह मन्त्रालयले ९० दिनको बहुप्रवेशी भिसा शुल्क ९० बाट बढाएर १ सय २५ डलर पुर्‍याएको छ।

प्रकाशित मिति: : 2019-07-03 18:19:11

प्रतिकृया दिनुहोस्