भारतमै अड्कियो ‘मनसुन’, सक्रिय हुन अझै केही दिन लाग्ने

रातोपाटी संवाददाता

काठमाडौँ । असार तेस्रो सातासम्म पनि देशका अधिकांश स्थानमा वर्षा हुन सकेको छैन । पानी पर्नअघि आकाशमा देखिनुपर्ने बादल नै त्यति देखिन नसकेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

केही स्थानमा फाट्टफुट बर्षा भएपनि काठमाडौ उपत्यकासहित अधिकाँश स्थानमा पर्याप्त बर्षा नहुँदा गर्मी महशुस हुनुका साथै  किसानहरुले बर्षे बाली लगाउन समेत पाएका छैनन् ।

सामान्यतया नेपालमा जुन १० बाट सुरु हुने मनसुन १५ जुनसम्म सक्रिय भइसक्ने गर्छ । यो प्रकृया अगस्त महिनासम्मै जारी रहने भएकाले यो अवधिमा पर्याप्त पानी पर्नुपर्ने भएपनि यसपटक मनसुन ट्रस्ट (न्युन चापीय रेखा) माथि आउन नसक्दा पानी नपरेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

‘मनसुन ट्रस्ट भारतको मध्यभुभागमै अड्किएको छ, माथि आएको छैन, जसले गर्दा सोचेअनुसार पानी पर्न नसकेको हो । खण्डखण्डमा भने परेको छ,’ मौसमविद् कँडेलले रातोपाटीसँग भनिन्, ‘मनसुन ट्रस्ट विस्तारै सर्ने त देखिन्छ । सम्भवतः तीनदिनपछि केही बढ्न सक्छ ।’ यद्यपी उनले तीनदिनपछि पनि पानी पर्याप्त पर्ने सम्भावना कम रहेको बताइन् ।

‘यसपटक रेन्जफल राम्रो देखाएको छैन, जलवास्पयुक्त हावा पनि त्यति छैन,’ कँडेलको भनाई छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाले बुधबार आगामी तीन दिनको मौसम पुर्वानुमान गर्दै सामान्य बदली भई केही स्थानबाहेक धेरैजसो स्थानमा सामान्य र मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति: : 2019-07-03 13:51:55

प्रतिकृया दिनुहोस्