प्रधानमन्त्रीको फरक सोफा

सादगीपूर्ण जीवनका कारण सम्मानित पूर्वभारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री भन्थे रे, ‘सिट् लाइट्, नट् टाइट् ।’ अर्थ पक्कै यही हो, कुर्सीमा आसक्ति नदेखाऊ । तर, ‘टाइट्’ क्रान्तिबाट आएका हाम्रा ‘टाइट्’ नेतालाई ‘लाइट्’ हुन कसरी मान्य हुन्छ ? ठूलो सोफामा अघिल्लो पंक्तिमा एक्लै बसेका हाम्रा प्रधानमन्त्री र अलि परै दोस्रो लहरका कुर्सीमा बसेका अरू नेताको एउटा तस्बिर अहिले चर्चामा छ । हाम्रा प्रधानमन्त्री, हाम्रो राजनीति, हाम्रो नेतागिरी, हाम्रो गणतन्त्र, हाम्रो वामपन्थ र नेताहरूका भक्तहरूको स्तरको त्यो सबैभन्दा प्रामाणिक तस्बिर हो । 

प्रधानमन्त्री मात्र होइन, यो देशको कुनै पनि नेता जनतासँग डराउँदैन । कसैलाई पनि छविको चिन्ता छैन । दूरगामी महत्वका गोप्य भेटघाट माफियाहरूका मध्यस्थतामा तिनैका दरबारमा हुन्छन्, तर स्वाभिमान मरेको कार्यकर्ता–पंक्ति ऐयासम्म गर्दैन । राजदूत र संवैधानिक निकायका पदाधिकारीको खुला किनबेच अब सामान्य भएको छ । दशकौँ लामो संघर्षमा साथ दिएको एउटा इमानदार कार्यकर्तालाई रुवाएर उदीयमान ठेकेदारलाई टिकट बेच्दा कुनै नेतालाई ग्लानि हुँदैन । कार्यकर्ताको आत्मा मर्दै जाँदा नेताहरू हामीले जे गरे पनि हुन्छ भन्ने निष्कर्षमा पुगिसकेका छन् । त्यसैले प्रधानमन्त्रीको अलग सोफा यो देशका ठूला राजनीतिज्ञको ठूलो ऐना हो र पिर्के सलामीहरू त्यसैका सह–उत्पादन ।

त्यसै पनि हाम्रो गणतन्त्रमा गाँडैगाँड पलाएका छन् । हिजो साम्यवादका लागि कालकोठरीमा नेल व्यहोरेका प्रधानमन्त्रीलाई अब मञ्चमा एक्लो सोफा चाहिन्छ । हिजो जनताको भकारो सोहोरेर सेल्टर बसेकी राष्ट्रपतिलाई सडक मात्र होइन, आकाश पनि खाली चाहिन्छ । लामो समय परदेशमा चौकिदारी गरेर जीवन र क्रान्ति धानेका मुख्यमन्त्रीलाई अब पाइलो सार्नुअघि जताततै रातो कार्पेट चाहिन्छ । र, एक वर्षअघि मात्र भेटेजतिलाई जम्लाहात गरेर पालिकामा पुगेका मेयरसाबहरूलाई अब आफ्नै बाबुआमासँग पिर्के सलामी चाहिन्छ । 

‘सोफा गणतन्त्र’का अरू उदाहरण पनि छन् । अघिल्लो साता निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमै निर्वाचनसम्बन्धी विशेष गोष्ठी राखेको थियो । त्यसमा पूर्वप्रधानमन्त्रीहरू पनि आमन्त्रित थिए । गोष्ठीसम्म त समाजवाद नै थियो, तर खाना खाने वेला समाजवाद ढल्यो । भान्सा दुईथरी थिए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र निर्वाचन आयोगका पदाधिकारीलाई बेग्लै ‘उपाध्याय’ भान्छाको व्यवस्था थियो, अरू ‘जैसी’लाई बेग्लै । प्रधानमन्त्रीकै वृक्षरोपण कार्यक्रममा पनि पछिल्लो लहरमा वरिष्ठ मन्त्रीहरू नै थिए । आफ्नै मन्त्रीसँग एउटै लहरमा बस्न प्रधानमन्त्रीलाई अरुचि भयो होला कि आयोजकले त्यसलाई प्रधानमन्त्रीको अपमान ठाने होलान् ?

दोष नेताको मात्रै पनि होइन । को होला त्यो चाकर, जसलाई पिर्कामा रातो टालो बेर्दा लाज लाग्दैन ? को होला त्यो मञ्च व्यवस्थापक, जसलाई प्रधानमन्त्रीका लागि सिंहासन टाइपको सोफा छुट्याउँदा संकोच हुँदैन ? त्यो होली वाइन पिएको वामपन्थ हो । आत्मा मरिसकेको विकृत वामपन्थ, जो कमरेडलाई राजा बनाउन र आफू चमर हल्लाएर बक्सिस लिन प्रयत्नशील छ । 

प्रकाशित मिति: : 2019-07-02 08:40:02

प्रतिकृया दिनुहोस्