वर्षौंदेखि बल्दैनन् राजधानीका ट्राफिक लाइट

राजधानीको यातायात व्यवस्थापन गर्न व्यस्त चोकहरुमा जडान गरिएका अधिकांश ट्राफिक लाइटहरु बिग्रिएका छन्।

सौर्य उर्जाबाट बल्ने ती बत्तीहरु नबल्दा यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ। ट्राफिक बत्ती नहुँदा एउटै चोकमा धेरै जना ट्राफिक प्रहरी तैनाथ गर्नुपरेको त छ नै। त्यसका बाबजुद सडक दुर्घटनामा पनि वृद्धि भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

जापान सरकारको आर्थिक सहयोगमा सडक विभागले २०६७ सालमा उपत्यकाका २० वटा मुख्य चोकहरूमा ट्राफिक लाइट जडान गरिएका थिए। ट्राफिक प्रहरीका प्रवक्ता रविकुमार पौडेलका अनुसार, तीमध्ये अहिले नयाँबानेश्वर चोक, ठिमीचोक, गट्ठाघर र नारायणगोपालचोक गरी चार ठाउँका चाहिँ चलिरहेका छन्। 

पौडेलले चलिरहेका दाबी गरेका चोकका ट्राफिक बत्ती पनि चलिरहेका छैनन्। सभ्भवत: उपत्यकामै एकैपटकमा सबैभन्दा बढी यात्रुले सडक पार गर्ने नयाँ बानेश्वर चोकको समेत बत्ती नबलेका कारण त्यहाँ खटिएका ट्राफिक प्रहरीले इशाराका भरमा काम चलाइरहेका छन्। 

यीबाहेक १६ ठाउँका ट्राफिक बत्तीहरू– केशरमहल, नारायणहिटी संग्रहालयको प्रवेशद्वार, पुतलीसडक, पद्मोदय हाइस्कुल मोड, सिंहदरबार, माइतीघर, थापाथली, कालिमाटी, गौशाला, तीनकुने, कोटेश्वर, मुनिभैरव, जडिबुटी, सूर्यविनायक, कौशलटार, सल्लाघारी गरी १६ ठाउँमा बिग्रिएका छन्।

यसबाहेक पैदल यात्रुका लागि नौ ठाउँमा राखिएका ट्राफिक बत्तीमध्ये शंकरदेव क्याम्पसअगाडि, अल्का अस्पताल जाउलाखेल र साल्ट टेड्रिङ कर्पोरेशन (कालीमाटी) गरी तीन ठाउँमा मात्रै चालु छन्। बागदरबारस्थित काठमाडौं महानगरपालिकाअगाडि, भोटेबहाल, कालीमाटी, पुरानो अमेरिकी पुस्तकालय, खिचापोखरीमोड, सिंहदरबार चोकका बत्तीको पोल मात्रै रहेको प्रवक्ता पौडेलले जानकारी दिए। 

दिनहुँ हजारौँ सवारीसाधन र लाखौँ यात्रुहरु हिँड्ने सडकमा ट्राफिक बत्ती नहुँदा ट्राफिक प्रहरीलाई समेत काम गर्न असहज भएको छ। ट्राफिक महाशाखाका प्रवक्ता पौडेलले भने, ‘ट्राफिक जनशक्ति पनि पर्याप्त छैनन्। जडान गरिएका सडक बत्ती पनि बिग्रिँदा जोखिम बढेको छ।’

पौडेलका अनुसार, उपत्यकाभित्र करिब एक हजार तीन सय ट्राफिक प्रहरी कार्यरत छन्। उपत्यकामा मात्रै दैनिक १२ लाख यातायात चल्ने प्रहरीको अनुमान छ। उनले भने, ‘उपत्यकामा ट्राफिकबराबर एक हजार एक सयभन्दा बढी सवारीसाधन पर्छ।’

ट्राफिक प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्ण भट्टले भने, ‘ट्राफिक लाइट भइदिए जनशक्तिको वचत हुन्थ्यो। सकभर त चोकमा ट्राफिक नै राख्नुपर्दैनथ्यो। अहिले एउटै चोकमा ७–८ जनासम्म प्रहरी लगातार  खटाउनुपर्छ। ठूलो चोकमा त यतिले पनि पुग्दैन।’ ती ट्राफिक पनि दुई–तीन सिफ्ट खटाउनुपर्दा एकै चोकमा एक दिनमा २५–३० जनासम्म प्रहरी आवश्यक पर्ने उनले जानकारी दिए। आधुनिक प्रविधिको प्रयोग गर्नसके अहिलेकै जनशक्ति पर्याप्त हुने उनले बताए।

प्रकाशित मिति: : 2019-07-02 08:10:03

प्रतिकृया दिनुहोस्