बालुवाटारको जग्गा बेच्ने ‘भू-माफिया’ ढकाल र सुवेदी कहाँ छन्?

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई प्रहरीले फेला पार्न सकेको छैन।

अख्तियारले समेत उनीहरूलाई सात दिनभित्र बयानका लागि उपस्थित हुन पत्रिकामा सूचना जारी गरेको थियो।

अख्तियारमा समेत उनीहरू बयानका लागि आएका छैनन्। सरकारले पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा गठन गरेको छानबिन समितिले उनीहरू दुवैलाई भू-माफिया भनेर किटान गरेको थियो।

बालुवाटारको सरकारी जग्गामा नक्कली मोही खडा गर्ने र तिनबाट कतिपय जग्गा बेचबिखन गर्ने कतिपय आफ्नै नाममा पास गर्ने काममा उनीहरू संलग्न रहेको भन्दै समितिले उनीहरूमाथि थप अनुसन्धान गर्न र कानुनी कारबाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई सिफारिस गरेको थियो।

समितिको सिफारिसका आधारमा सरकारले सिआइबीलाई बालुवाटार जग्गा प्रकरणमा थप अनुसन्धान गर्ने जिम्मा दिएको थियो। तर बालुवाटार जग्गा बेचबिखन प्रकरणका मुख्य योजनाकार मानिएका उनीहरूलाई सिआइबीले खोज्ने प्रयत्न भने गरेको देखिन्न।

सिआइबीलाई उनीहरू कहाँ छन् भन्ने समेत थाहा नभएको प्रवक्ता दीपक रेग्मीले जानकारी दिए।

'आफ्नै संयन्त्रमार्फत् उनीहरूलाई सोधपुछका लागि बोलाइएको छ तर आउनु भएको छैन,' उनले भने, 'हामीले उहाँहरूलाई पक्राउ गरेर मुद्दा नै लाने हिसाबले पनि बोलाएको हैन सोधपुछका लागि बोलाउँदा समेत आउनुभएको छैन।'

पछिल्लो समय उनीहरू कहाँ थिए भनेर समेत आफूहरूले नखोजेको उनले बताए।

ढकाल र सुवेदीका परिवारलाई समेत अख्तियारले बयानका लागि आउन सूचना प्रकाशित गरेको छ।

उनीहरू आए बयान चल्ने र नआएपनि कसूर गरेअनुसारको मुद्दा चल्न सक्ने अख्तियार स्रोतले बतायो।

प्रकाशित मिति: : 2019-07-02 07:58:17

प्रतिकृया दिनुहोस्