त्रिपक्षीय अन्तर्राष्ट्रिय चासोको चेपुवामा नेपाल

नेपालको राजनीति, अर्थतन्त्र, र सुरक्षामा शक्ति राष्ट्रहरुको एकैपटक चासो देखिएको छ । छिमेकी मुलुक चीन र भारतबाहेक अमेरिकाको चासो पनि देखिएको छ । र, एकले अर्को मुलुकको चासो पूरा हुन नदिन भित्रभित्र कसरत पनि गरेका छन् । चीन बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत् नेपालमा पूर्वाधार निर्माणको योजनामा छ । चीनको बीआरआइमा नेपालको सहभागितासँगै अमेरिकाले नेपाललाई इन्डो प्यासेफिक रणनीति साभेदारमा जोडन चाहेको आशयको प्रतिेदन सार्वजनिक गरेको छ । अर्थात् नेपाललाई यो साझेदारमा जोडेर नेपालमार्फत् चीनलाई घेर्ने आफ्नो दीर्घकालीन रणनीतिलाई थप गति दिने दाउमा अमेरिका छ । ठीक यति नै बेला कट्टर हिन्दुवादी छवि रहेको भारतीय जनता पार्टीले भारतमा दोस्रो पटक सरकार बनाएको छ । र, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट मानिने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाललाई हिन्दु राष्ट्र बनाउने परम्परागत भारतीय चाहनालाई अघि सारेका छन् । भारत र अमेरिका नेपाललाई बीआरआईबाट टाढा राख्न चाहन्छन् । नेपाललाई इन्डो प्यासेफिक रणनीति साझेदारमा जोड्ने अमेरिकी चासोलाई चीन पूरा हुन दिन चाहँदैन । यसरी तीन राष्ट्रले नेपालमाथि आ–आफ्नो चासो राखेका छन् र त्यसको चापमा नेपाल छ ।

यसैकारण यी विषय कहिले संसदमा त कहिले पार्टी बैठकमा उठेका छन् । यी विषयमा कहिले मूलधारका मिडियामा त कहिले सोसल मिडियामा पनि बहस भएका छन् । चीन, भारत र अमेरिकासँगै कहिले भेनुजेयुला त कहिले उत्तर कोरियाको मुद्दाले पनि नेपालको राजनीति तात्ने गरेको छ । तर, नेपालमा चीन,भारत र अमेरिकाको चासो र चलखेलले नै यहाँको राजनीति मूलतः प्रभावित बन्ने पनि गरेको छ ।

यसैले होला प्रधानमन्त्री आफैले पनि यी विषयमा धेरै पटक बोलेका छन् । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय समुदायलाई नेपालमा अतिरिक्त कूटनीतिक गतिविधि नगर्न सचेत गराएका छन् । विदेशनीतिका सम्बन्धमा सर्वपक्षीय एकरूपता कायम गर्न सरकारले नै असार १४ गते शनिबार  आयोजना गरेर बोलाइएको कूटनीतिक संवादमा प्रधानमन्त्री केपी ओलीले अतिरिक्त कूटनीतिक गतिविधि नगर्न अन्तराष्ट्रिय समुदायलाई चेतावनी समेत दिए ।

प्रकाशित मिति: : 2019-07-01 17:50:22

प्रतिकृया दिनुहोस्