व्यवस्थापन नसुधारे निगमलाई सरकारले सहयोग गर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले तत्काल व्यवस्थापन सुधार गर्नुपर्ने बताएका छन्। निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथास्थितिमा सरकारले निगमलाई सहयोग गर्न नसक्ने बताए।

प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरू सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गरे। 'वायु सेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ?' प्रधानमन्त्री ओलीले सोधे, 'यथास्थितिमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन।'

निगमका निर्णय हचुवामा हुने गरेको प्रधानमन्त्रीले बताए। 'गन्तव्य कहाँ हो थाहा छैन। वाइड बडी किनेको छ,पाइलट छैन, जहाज किनेको छ', प्रधानमन्त्री ओलीले भने, 'यस प्रकारका निर्णयले निगम धरासायी हुँदै गएको हो।'

प्रधानमन्त्रीले निजी कम्पनीहरू फाइदामा जान सक्ने तर निगम किन घाटामा भनेर प्रश्न गरे। 'निगमका विमान निजी कम्पनीलाई भाडामा दिने प्रस्ताव निगम कर्मचारीले गर्न थालेका छन्। यही विमान निजीले चलाउँदा मासिक २० देखि ५० हजार डलरसम्म निगमलाई नै दिने प्रस्ताव कर्मचारीबाट आएको छ', प्रधानमन्त्रीले सोधे, 'त्यही जहाज हो जसलाई निजीले उडाउँदा नाफामा जाने तर सरकारी कम्पनी वायुसेवा निगमले उडाउँदा भने सधैँ घाटामा मात्रै किन ?'

 

प्रकाशित मिति: : 2019-07-01 17:31:10

प्रतिकृया दिनुहोस्