प्रहरीको यौन प्रस्तावले श्रीचौर तनावग्रस्त, स्थानीयद्धारा चौकी घेराउ

चौकी घेर्न पुगेका स्थानीय । तस्बिर सौजन्य : शिबकुमार कार्की

ओखलढुंगामा प्रहरीले महिलालाई दुव्र्यवहार गरेपछि स्थानीयले चौकी घेराउ गरेका छन् । प्रहरी चौकी श्रीचौरका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले एक महिलालाई यौन दुव्र्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेराउ गरेका हुन् । 

मदिरा सेवन गरेर अचेत अवस्थामा पुगेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफुलाई यौन दुव्र्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए । प्रहरीले संवेदनशिल अंगमा समातेर यौन सम्पर्कका लागि जबरजस्ती प्रस्ताव गरेको पीडित महिलाले बताएकी छन् । ‘म खाएर बसेको ठाँउमा पुलिस आएर मलाई नराम्रो व्यवहार गर्यो,’ पीडित महिलाले भनिन्, ‘अनि मैले २ झापट दिएँ र गुहार मागेर चिच्याएँ अनि भाग्यो ।’ 

प्रहरीबाटै महिला असुरक्षित भएपछि दोषीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिएको स्थानीय युवा पदम तामाङले बताए । ‘सुरक्षा दिने प्रहरीबाटै असुरक्षा भोग्नु परेको छ,’ उनले भने, ‘हामी कानुनी कारबाही नभएसम्म चुप बस्दैनौं ।’ प्रहरीले मदिराको तालमा महिलामाथी दुव्र्यवहार गरेको हल्ला फैलिएपछि गाउँका अधिकांश मानिसहरु राति नै चौकी घेर्न पुगेका थिए । घेराउमा रातभर गाउँका पुरुषहरु सहभागी थिए । बिहान उज्यालो भएपछि ठूलो संख्यामा महिलाको उपस्थिती छ । यसअघि पनि श्रीचौरमा कार्यरत प्रहरीले मदिरा सेवन गरेर महिलामाथि हिँसा गरेका घटनाहरु सार्वजनिक भएका थिए । 

प्रकाशित मिति: : 2019-06-24 11:05:21

प्रतिकृया दिनुहोस्